मेयर्स फोरमले फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने
काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र साहसँग छलफल गर्ने भएको छ ।
फोरमको मंगलबार बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्कालै छलफल गर्ने निर्णय गरेको हो । फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जतिसक्दो छिटो भेटघाटको समय मागेर उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए ।
फोरमले उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेपवेस्टबिच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको वैकल्पिक मार्ग खोल्ने विषयमा पनि निर्णय गर्न आग्रह गर्ने उनले बताए । फोरमले उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएको जनाएको छ ।
यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको अध्यक्ष महर्जनले बताए। फोरमले भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत आपत्ति जनाएको छ । प्रधानमन्त्रीसँगको भेटमा उक्त विषय पनि उठाउने निर्णय भएको उनले जानकारी दिए ।
उपत्यकाको फोहर विसर्जन गर्ने बञ्चरेडाँडाका स्थानियले १५ दिनभित्र आफ्नो माग पूरा नगरे फोहोर रोक्ने चेतावनी दिएका छन् । फोहर रोक्न चेतावनी दिएपछि फोरमले फोहोर व्यवस्थापनका लागी प्रधानमन्त्रीसँग छलफल गर्न लागेको हो ।








