रसुवामा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन
काठमाडौँ । रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरेको छ । प्रभावित क्षेत्रको अवस्था हेरेर अन्य जिल्लाबाट समेत थप जनशक्ति परिचालन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टिम, नेपाल स्काउट, रेडक्रस लगायतका निकायसँग समन्वय गरेर आवश्यक उद्धार तथा राहतको काम अघि बढाइएको बताए । प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि सुरु गरिएको जनाइएको छ ।
बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइएको छ । मोबाइल कलमार्फत समेत प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी गराउँदै सुरक्षित स्थानमा जान अलर्ट गरिएको प्रधानमन्त्री शाहले बताएका छन् ।
सम्भावित उद्धार तथा राहतका लागि उपलब्ध हेलिकप्टरहरू प्रभावित क्षेत्रतर्फ पठाइएको छ । निजी हेलिकप्टर कम्पनीहरूलाई समेत हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको र केही निजी हेलिकप्टर प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेको जनाइएको छ।
बाढीपछि उत्पन्न अवस्थाबारे थप आवश्यक निर्णय लिन उच्चस्तरीय बैठकसमेत बोलाइएको प्रधानमन्त्री शाहले बताएका छन् । उनले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सम्बन्धित सरकारी निकायबाट जारी हुने उद्धारसम्बन्धी अपडेटको प्रतीक्षा गर्न आग्रह गरेका छन् ।
राहत तथा उद्धारसम्बन्धी थप जानकारीका लागि १२३४ र १००र११११ नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।






