१० भदौ २०८३, बुधबार

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा

प्रकाशित मिति :  26 August, 2026 1:43 pm


काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ।

सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा उपलब्ध गराउन निर्देशन दिएका थिए।

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीलाई हाल दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन दुई जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क उपलब्ध गराइनेछ।

टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर सूचना प्रवाह गरिरहेको छ।

नेपाल टेलिकमका अनुसार बाढीका कारण रसुवामा दुई र नुवाकोटमा पाँच गरी सात वटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। टावर तथा सेवा पूर्वाधारको मर्मतसम्भारका लागि टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ।



प्रतिक्रिया दिनुहोस !