१० भदौ २०८३, बुधबार

रसुवाको बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको एजेण्डा बनाउन राप्रपाको माग

प्रकाशित मिति :  26 August, 2026 4:16 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रसुवामा आएको विनाशकारी बाढीलाई केवल एउटा प्राकृतिक प्रकोपका रूपमा मात्र नहेरी यसलाई ‘जलवायु न्याय’ र ’हिमाली सुरक्षा’ को राष्ट्रिय एजेण्डा बनाउन सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले रसुवामा देखिएको विनाशको दृश्य अत्यन्तै पीडादायी र भयावह रहेको बताउनु भयो । प्रारम्भिक परिस्थिति हेर्दा यो बाढी हिमताल विष्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–जीएलओएफ) का कारण उत्पन्न भएको हुन सक्ने आशंका व्यक्त गर्दै उनले यसको यथार्थ कारण पत्ता लगाउनुपर्नेमा जोड दिइन् ।

उनले नेपाल जलवायु संकटको सिर्जनाकर्ता नभई यसको अग्रपंक्तिमा रहेको पीडित राष्ट्र भएको स्पष्ट पार्दै प्रभावकारी ‘जलवायु कूटनीति’ मार्फत अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउन सरकारलाई आग्रह गरिन् । जलवायु वित्त, अनुकूलन सहयोग, र पूर्वसूचना प्रविधिका लागि आवश्यक अन्तर्राष्ट्रिय स्रोत सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

सचेतक ओलीले केवल राहत र उद्धारमा मात्र सीमित नभई अब पूर्वसूचना प्रणालीको सुदृढीकरण, जोखिमयुक्त हिमतालहरूको नियमित अनुगमन र जलवायु प्रतिरोधी पूर्वाधार निर्माणमा केन्द्रित हुनुपर्ने बताए । उनले जोखिममा रहेका बस्तीहरूको पूर्वतयारी र सुरक्षित स्थानान्तरणका लागि राज्यले ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।

उनले यो कठिन घडीमा सम्पूर्ण सदन र समाजका हरेक वर्गलाई प्रभावित नागरिकको सहयोगमा जुट्न अपिल समेत गरिन् । विगतको जाजरकोट भूकम्पका बेला राहत वितरणमा देखिएको कमजोरी र नेताहरूबीच हेलिकप्टरमा जाने प्रतिष्पर्धा भएको प्रसङ्ग उल्लेख गर्दै ओलीले रसुवाका बाढी पीडितले त्यस्तो सास्ती भोग्न नपरोस् भनी सचेत गराइन् ।



प्रतिक्रिया दिनुहोस !