रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।
भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ।
बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको समीक्षा गर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल हुनेछ।
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक आह्वान गरिएको रास्वपाले जनाएको छ।








