१२ भदौ २०८३, शुक्रबार

सांस्कृतिक एवं धार्मिक गरिमा बोकेको रक्षाबन्धन पर्व हर्षोल्लासका साथ मनाइँदै

प्रकाशित मिति :  28 August, 2026 1:15 pm


काठमाडौँ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण तथा पवित्र पर्व रक्षाबन्धन आज श्रावण शुक्ल पूर्णिमाका दिन मनाइँदैछ। विशेषगरी दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, स्नेह र विश्वासको प्रतीक मानिने यो पर्व नेपालभर, विशेषगरी मिथिलाञ्चल क्षेत्रमा विशेष महत्वका साथ मनाइन्छ।

रक्षाबन्धनका अवसरमा दिदीबहिनीले दाजुभाइको दाहिने हातको नाडीमा रक्षासूत्र (राखी) बाँधेर सुख, समृद्धि, सफलता र दीर्घायुको कामना गर्छन्। त्यस क्रममा दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार उपहार दिँदै सुख–दुःखमा सधैँ साथ दिने र रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्छन्।

धार्मिक तथा सामाजिक दृष्टिले रक्षाबन्धनलाई केवल धागो बाँध्ने पर्वका रूपमा मात्र नभई प्रेम, समर्पण र सम्बन्धको पवित्रताको प्रतीक मानिन्छ। रक्षाबन्धनमा प्रयोग गरिने ‘सूत्र’ले एकता र अविच्छिन्न सम्बन्धलाई प्रतिबिम्बित गर्छ।

यस पर्वको पौराणिक सम्बन्ध देवराज इन्द्रसँग जोडिएको छ। पौराणिक कथाअनुसार देवासुर संग्राममा देवताहरूको विजय सुनिश्चित गर्न इन्द्राणीले देवराज इन्द्रको दाहिने हातमा रक्षासूत्र बाँधिदिएकी थिइन्। सोही रक्षासूत्रको शक्तिले इन्द्रले असुरमाथि विजय प्राप्त गरेको जनविश्वास छ।

रक्षाबन्धनले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै समाजमा प्रेम, विश्वास, कर्तव्यबोध र सद्भावको सन्देश प्रवाह गर्दै आएको छ।

तस्बिर : निर्मल प्रधान/ नेपाल फोटो सर्भिस (NPS)



प्रतिक्रिया दिनुहोस !