भोटेकोशी र त्रिशूली नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती तथा सो क्षेत्रमा खटिएका उद्धारकर्मीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
भदौ १० गते ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा शुक्रबार पुनः लेदोसहित पानीको बहाव बढेको र थप बाढी आउन सक्ने जोखिम देखिएपछि प्राधिकरणले सतर्क रहन सूचना जारी गरेको हो।
प्राधिकरणका प्रवक्ता एवं उपसचिव शान्ति महतद्वारा जारी विज्ञप्तिमा भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका र विविध कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान पनि प्राधिकरणले अनुरोध गरेको छ।
नदीमा लेदोसहितको बहाव बढ्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै प्राधिकरणले आवश्यक सुरक्षाका उपाय अपनाउन जोड दिएको छ।
प्रतिकूल अवस्थामा सहयोगका लागि प्राधिकरणले टोल फ्री नम्बर ११४९ उपलब्ध गराएको छ।








