१३ भदौ २०८३, शनिबार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको रक्तदान अभियान, साढे ८ हजार पिन्ट रगत सङ्कलन

प्रकाशित मिति :  29 August, 2026 11:25 am


काठमाडौँ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणिको १९औँ पुण्य स्मृति तथा विश्व बन्धुत्व दिवसका अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले आयोजना गरेको वृहत् रक्तदान अभियान सम्पन्न भएको छ।

मानव सेवा तथा विश्व बन्धुत्वको भावना प्रवर्द्धन गर्ने उद्देश्यले भदौ ५ देखि ९ गतेसम्म देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानमा रक्तदाता, सामाजिक अभियन्ता, युवा तथा विभिन्न संघसंस्थाको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

अभियानको शुभारम्भ भदौ ५ गते काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा प्रतिनिधिसभा सदस्य प्रभा ढकालको प्रमुख आतिथ्य तथा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक डा. राज दिदीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा केन्द्रकी सहनिर्देशक ब्रह्माकुमारी किरण दिदीको पनि उपस्थिति थियो।

पाँच दिनसम्म सञ्चालन भएको अभियानबाट कुल हजार ६९४ पिन्ट रगत सङ्कलन भएको छ।

दिनअनुसार सङ्कलित रगतको विवरणमा भदौ ५ गते १ हजार ४१५ पिन्ट, भदौ ६ गते ३ हजार ११८ पिन्ट, भदौ ७ गते १ हजार ८६६ पिन्ट, भदौ ८ गते ८७१ पिन्ट र भदौ ९ गते १ हजार ४३६ पिन्ट रगत सङ्कलन भएको छ।

गत वर्ष आयोजित रक्तदान अभियानमा भने कुल ११ हजार ९१६ पिन्ट रगत सङ्कलन भएको आयोजकले जनाएको छ।

अभियान सफल बनाउन सहयोग गर्ने रक्तदाता, स्वयंसेवक, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाप्रति केन्द्रले आभार व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस !