रसुवा बाढी अपडेटः मृतकको संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ १५ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरणअनुसार बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
प्राधिकरणकाअनुसार बाढीले बगाएका शवहरू विभिन्न जिल्लाहरूमा फेला परेका छन् । जसअन्तर्गत चितवनमा २ सय ७२, नवलपरासी पूर्वमा २ सय ७, नवलपरासी पश्चिममा १ सय ५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये केही मानव अङ्ग मात्र रहेको र पहिचान हुन नसकेका शवहरूलाई विभिन्न २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ ।
हालसम्म २ सय ६७ जना घाइते भएकोमा १ सय ५६ जना उपचारपछि घर फर्किसकेका छन् । बाँकी घाइतेहरूको उपचारका लागि प्रभावित क्षेत्रमा ६ वटा विशेष सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ ।
विपद्का कारण अझै ४ हजार २ सय ४७ जना सम्पर्कविहीन रहेका छन् । जसमा रसुवाका ८ सय ६५ जना, नुवाकोटका १ हजार ५ सय ५८ जना, जलविद्युत आयोजनाका ९ सय ३३ जना र ५ सय ९२ जना विदेशी नागरिक रहेका छन् । साथै, सुरक्षा निकायका ८३ जना ९सेना, प्रहरी र सशस्त्र० र भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारीहरू समेत सम्पर्कविहीनको सूचीमा छन् ।
खोज तथा उद्धार कार्यका लागि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । हालसम्म नेपाल प्रहरी ७ हजार ८ सय ९४, नेपाली सेना ८ हजार ७ सय २२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ गरी कुल २० हजार ८ सय १९ सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएका छन् । सेनाको हेलिकप्टरमार्फत हालसम्म ४ सय ११ पटक उडान भई १० हजार ४ सय ५१ जनाको उद्धार गरिएको छ, जसमा ३ हजार ३ सय ४४ नेपाली र २ सय ५२ विदेशी नागरिक रहेका छन् ।
राहत वितरण कार्यलाई पनि तिब्रता दिइएको छ । सरकारले रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । त्यस्तै प्रभावित १५ वटा पालिकाहरूलाई कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
स्थल तथा हवाई मार्गबाट राहत सामग्री ढुवानी भइरहेको छ । हालसम्म ३७ ट्रक र ३५ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । भदौ १४ गते मात्रै रसुवाका लागि ५ वटा पोर्टेबल जेनेरेटर, औषधि र स्वास्थ्य सामग्री पठाइएको छ भने नुवाकोटमा १६ वटा सवारीसाधन र हेलिकप्टरमार्फत राहत परिचालन गरिएको छ ।
प्राधिकरणले प्रभावित क्षेत्रमा इन्धनको मौज्दात पर्याप्त रहेको जानकारी दिएको छ । हाल २५ हजार लिटर डिजेल, २१ हजार लिटर पेट्रोल र १० हजार लिटर हवाई इन्धन मौज्दात छ ।









