१५ भदौ २०८३, सोमबार

एमालेद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

प्रकाशित मिति :  31 August, 2026 4:07 pm


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

सोमवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले सो जानकारी दिए । सो अवसरमा एमालेको वागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीका तर्फबाट १०–१० लाख गरी जम्मा २० लाख रुपैयाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो । उक्त सहयोग ग्रहण गर्दै अध्यक्ष ओलीले पार्टीले केन्द्रिय तहबाटै विपद् व्यवस्थापनका लागि कोष परिचालन गर्ने र त्यसमा कम्तीमा १ करोड २० लाख रुपैयाँ सङ्कलन गरिने बताए ।

राहत वितरणको मोडालिटीबारे चर्चा गर्दै अध्यक्ष ओलीले सरकारी कोषमा रकम जम्मा गरेर मात्र प्रक्रियागत ढिलाइ हुनुभन्दा पीडितले प्रत्यक्ष र छिटो राहत पाउने व्यवस्था हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले राहत र पुनस्र्थापनाका कार्यलाई प्रभावकारी बनाउन कुन माध्यमबाट वास्तविक पीडितसम्म छिटो पुग्न सकिन्छ, पार्टीले सोही बाटो अवलम्बन गर्ने स्पष्ट पारे। उनले विपद्को यस घडीमा सबै पक्षलाई जिम्मेवार भई राहत कार्यमा जुट्न समेत आग्रह गरे।



प्रतिक्रिया दिनुहोस !