१५ भदौ २०८३, सोमबार

बाढीपहिरोमा ज्यान गुमाएकाका परिवारलाई पशुपति क्षेत्रमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा

प्रकाशित मिति :  31 August, 2026 5:42 pm


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बाढीपहिरोका कारण ज्यान गुमाएका व्यक्तिहरूको परिवारलाई निःशुल्क दाहसंस्कार तथा कृयापुत्री सेवा उपलब्ध गराउने भएको छ।

कोषले जारी गरेको सूचनाअनुसार भदौ १० गते आएको बाढीपहिरोका कारण दिवंगत भएका व्यक्तिहरूको सम्मानपूर्वक अन्त्येष्टि गर्न पशुपति क्षेत्रमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवाको व्यवस्था गरिएको हो।

विपद्का कारण आफन्त गुमाएका परिवारलाई आवश्यक सहजीकरण गर्दै धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्त्येष्टि कार्य सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले उक्त व्यवस्था गरिएको कोषले जनाएको छ।

कोषले विपद्को कठिन परिस्थितिमा मृतकका परिवारलाई आर्थिक तथा व्यवस्थापकीय भार कम गर्न यस्तो सेवा उपलब्ध गराएको जनाएको छ। पशुपति क्षेत्र विकास कोषअन्तर्गत आर्यघाट तथा भष्मेश्वर घाटमा दाहसंस्कारसम्बन्धी सेवा सञ्चालन हुँदै आएको छ।

निःशुल्क सेवा तथा आवश्यक समन्वयका लागि सूचनामा सूर्यबहादुर भाट ९८५१०६४२७४ र पशुपति क्षेत्र विकास कोष ०१४५७९२८२८ मा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस !