१७ भदौ २०८३, बुधबार

विनाशकारी भोटेकोशी बाढीपछिको अवस्थाबारे प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको ‘ब्रिफिङ’ (पूर्णपाठ)

प्रकाशित मिति :  2 September, 2026 2:36 pm


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार, उपचार र राहत कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराएका छन् । प्रतिनिधि सभाको बैठकमा बाढीपछिको अवस्थाबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ठुलो जनधनको क्षति भएको भन्दै हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको र ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको जानकारी गराए । २९२ घाइतेमध्ये १८२ जना उपचारपछि घर फर्किसकेको र खोज तथा उद्धार अभियान जारी रहेको प्रधानमन्त्री शाहको भनाई छ ।

राहत तथा उद्धार कोषमा हालसम्म ७ अर्बभन्दा बढी रकम सङ्कलन भएको र विभिन्न स्थानीय तहमा रकम निकासा भइसकेको प्रधानमन्त्री शाहले जानकारी दिए ।

बाढीले सडक, पुल, सञ्चार तथा जलविद्युत् क्षेत्रमा ठुलो क्षति पुर्‍याएको भन्दै प्रधानमन्त्री शाहले ४३१ मेगावाटभन्दा बढी विद्युत् उत्पादन प्रभावित भएको, दर्जनौं पुल बगेका तथा सडक सञ्जालमा व्यापक क्षति पुगेको जानकारी गराए ।

प्रधानमन्त्री शाहले यो विपत्ति हिमाली क्षेत्रमा हिमपहिरोबाट सिर्जित जलवायु परिवर्तनजन्य ठुलो प्रकोप भएको उल्लेख गर्दै जलवायु सङ्कटबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालले बलियो आवाज उठाउनुपर्ने आवश्यकता औंल्याए ।

साथै सरकारले प्रभावित नागरिकको उद्धार, उपचार, राहत र पुनःस्थापनामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस !