१७ भदौ २०८३, बुधबार

प्रचारबाजीमा होइन, नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह

प्रकाशित मिति :  2 September, 2026 2:40 pm


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्को समयमा प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै आङदेम्बेले रसुवामा बाढी आएको एक साता बितिसक्दा पनि प्रभावित नागरिकको खोज तथा उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए।

उनले विपद्पछिको खोज, उद्धार र राहत वितरणको अवस्थामाथि प्रश्न उठाउँदै अझै ६२ जिल्लाका ३ हजार ९ सय १६ जना नागरिक सम्पर्कविहीन रहेको विवरण आएको बताए। समयक्रममा यो संख्या अझै बढ्न सक्ने उनको भनाइ थियो।

सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको आङदेम्बेले बताए। प्रभावित नागरिकको उद्धारका लागि सुरुदेखि नै सरकारी तथा निजी क्षेत्रका स्रोतसाधन परिचालन गर्नुपर्ने र आवश्यक परे अन्तर्राष्ट्रिय प्रविधि तथा दक्ष जनशक्तिसमेत प्रयोग गर्नुपर्नेमा सरकार चुकेको उनले आरोप लगाए।

‘बाढीको प्रलय आएको एक साता बितिसक्यो। सबै ठिकठाक भइरहेको छ त सभामुख महोदय? जब ठिकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ र प्रश्न गरेनौँ भने हामी जिम्मेवारीबाट विमुख रहेको ठहर्छ,’ उनले भने।

आङदेम्बेले सरकारको कामकारबाहीबारे प्रतिपक्षले प्रश्न उठाउनु पूर्वाग्रह नभई खबरदारी र जिम्मेवारी भएको बताए।

‘यो प्रचार गर्ने होइन, नागरिकको प्राण बचाउने समय हो। नागरिकको जीवनसँग जोडिएको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोला,’ उनले सरकारलाई आग्रह गरे।

उनले विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न पाँच विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।



प्रतिक्रिया दिनुहोस !