१७ भदौ २०८३, बुधबार

विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु हो : उपनेता पराजुली

प्रकाशित मिति :  2 September, 2026 2:44 pm


काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद्का समयमा नेतृत्वको भूमिका स्वयं उद्धारमा खटिनुभन्दा राज्यका सम्पूर्ण संयन्त्रलाई नागरिकको जीवनरक्षामा केन्द्रित गर्नु भएको बताएका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले संकटका बेला तत्काल सही निर्णय गर्ने, आवश्यक जनशक्ति परिचालन गर्ने र अवरोध हटाउने काम नेतृत्वको मुख्य जिम्मेवारी भएको बताए।

उनले विपद्का समयमा नेतृत्वले कमाण्ड, समन्वय र सञ्चारको श्रृंखला बलियो बनाइराख्नुपर्नेमा जोड दिए। प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वयंसेवकले राज्य र नेतृत्व आफ्नो साथमा दृढतापूर्वक उभिएको अनुभूति गर्न सक्नुपर्ने उनको भनाइ थियो।

‘संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौडिने मात्र होइन । सही ठाउँमा सही निर्णय गर्ने, आवश्यक व्यक्ति परिचालन गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई नागरिकको जीवनरक्षामा केन्द्रित गराउने हो,’ उनले भने।

पराजुलीले जिम्मेवार नेतृत्वले उद्धारकर्मीलाई साहस, सम्बन्धित निकायलाई स्पष्ट निर्देशन र नागरिकलाई भरोसा दिन सक्नुपर्ने बताए।

‘संकटको बेला पदमा रहनु मात्र नेतृत्व होइन, आफ्नो जिम्मेवारी पहिचान गरी त्यसमा अडिग रहँदै प्रत्येक निकायलाई जिम्मेवार र परिणाममुखी ढंगले परिचालन गर्न सक्नु पनि वास्तविक नेतृत्वको परीक्षा हो,’ उनले भने।

विपद्को समयमा सरकारले आफूसँग भएका सम्पूर्ण संयन्त्र परिचालन गरी खोज, उद्धार र राहत वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

उनले खोज तथा उद्धारमा परिचालित सुरक्षाकर्मीप्रति आभारसमेत व्यक्त गरे।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !