१९ भदौ २०८३, शुक्रबार

भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७ अर्ब ९५ करोड लाग्ने

प्रकाशित मिति :  4 September, 2026 7:11 am


काठमाडौँ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षेत्रगत र मानवीय गरी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार साँझ आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले आगामी चार महिनाभित्र प्रारम्भिक पुनःस्थापना अर्थात् ‘अर्ली रिकभरी’का लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको बताए। बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहत वितरणसँगै क्षतिको विवरण सङ्कलनको काम पनि जारी रहेको उनले जानकारी दिए।

उनका अनुसार भवन, सार्वजनिक बस्ती, पुल, स्वास्थ्य, पोषण, शिक्षा, कृषि, पशुपालन, ऊर्जा, विद्युत् र दूरसञ्चार क्षेत्रको तत्काल पुनःस्थापना सरकारको प्राथमिकतामा रहेको छ।

“आज मात्र उत्तरी क्षेत्रबाट ११३ जना नेपाली र एक चिनियाँ नागरिकसहित ११४ जनाको सकुशल उद्धार गरेर काठमाडौं ल्याउने काम भइरहेको छ। अन्य प्रभावित क्षेत्रमा फसेका २० जनाको पनि उद्धार भएको छ,” उप्रेतीले भने, “अबको चार महिनामा गर्ने प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ लाग्ने अनुमान गरेका छौँ।”

उनले सरकारले खोज, उद्धार तथा राहत वितरणका लागि आफ्ना संयन्त्र परिचालन गरिरहेको बताए।

प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म १ हजार २५९ जनाको शव फेला परेको छ भने ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेका छन्।

-न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !