बाढीपीडितका लागि प्रविधि कम्पनी एनभिडियाको डेड अर्ब रकम सहयोग
काठमाडौं । विश्वकै अग्रणी प्रविधि कम्पनी एनभिडिया कर्पोरेसन र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले नेपालका बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ५३ करोड रुपैयाँ) सहयोग गरेका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको उक्त रकम निजी क्षेत्रबाट नेपाल सरकारलाई विपद् राहतका लागि प्राप्त भएको अहिलेसम्मकै ठूलो सहयोग भएको बताइएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसको पुष्टि गर्दै एनभिडिया र हुआङप्रति धन्यवाद व्यक्त गरेका छन्।
एनभिडियामा कार्यरत नेपाली अधिकारी अशोक पाण्डे, आरती न्यौपानेसहितका नेपाली कर्मचारीको पहलपछि कम्पनीले नेपाललाई सहयोग गर्ने निर्णय गरेको हो। पाण्डेको नेतृत्वमा नेपाली कर्मचारीले नेपालमा भएको विपद्को अवस्थाबारे कम्पनीको उच्च व्यवस्थापनलाई जानकारी गराएका थिए।
सहयोग रकम नेपाल सरकारको कोषमा पठाउने प्रक्रियामा अर्थमन्त्री डा. वाग्ले र एनभिडियाकी नेपाली अधिकारी न्यौपानेबीच समन्वय गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वकोषाध्यक्ष हिक्मत थापाले पनि भूमिका निर्वाह गरेका थिए।
एनभिडियाबाट कोषमा रकम जम्मा भएको जानकारी पाएपछि अर्थमन्त्री वाग्लेले सामाजिक सञ्जालमार्फत कम्पनी र हुआङलाई धन्यवाद दिएका थिए। सहयोग जुटाउन सक्रिय न्यौपाने यसअघि नाइजेरियामा रहँदा भूकम्प प्रभावितका लागि राहत सङ्कलन तथा समन्वयमा समेत सक्रिय रहेकी थिइन्।
नेपालमा पछिल्लो विपद्बाट ठूलो आर्थिक क्षति भएको र पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्न सक्ने अर्थमन्त्री वाग्लेले बताएका छन्। एनभिडिया र हुआङबाट प्राप्त सहयोग राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा उपयोगी हुने अपेक्षा गरिएको छ।
एनभिडिया विश्वको सबैभन्दा प्रभावशाली सेमिकन्डक्टर तथा कृत्रिम बौद्धिकता (एआई) प्रविधि कम्पनीमध्ये एक हो। अमेरिकामा मुख्यालय रहेको कम्पनीले ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू), एआई कम्प्युटिङ र डाटा सेन्टर प्रविधिमा विश्वव्यापी नेतृत्व हासिल गरेको छ। जेन्सेन हुआङ कम्पनीका संस्थापक तथा लामो समयदेखि सीईओका रूपमा एनभिडियालाई एआई युगको प्रमुख प्रविधि कम्पनीका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।
नेपालसँग एनभिडियाको सम्बन्धमा नेपाली मूलका प्रविधि विज्ञ तथा कम्पनीमा कार्यरत नेपाली कर्मचारीको भूमिका पनि महत्वपूर्ण देखिएको छ। नेपालमा आएको विपद्को जानकारी कम्पनीको नेतृत्वसम्म पुर्याउन नेपाली कर्मचारीले गरेको पहलबाट यो सहयोग जुटेको हो। एनभिडिया र हुआङको सहयोगले विपद्का बेला विश्वव्यापी प्रविधि क्षेत्रबाट नेपाललाई प्राप्त भएको महत्वपूर्ण निजी क्षेत्रीय सहयोगका रूपमा समेत अर्थ राख्नेछ।









