हेटौँडामा यात्रु र चालकलाई निःशुल्क खाना, सडक सहज नभएसम्म अभियान जारी रहने
हेटौँडा । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग हुँदै काठमाडौँतर्फ जाने यात्रु तथा चालकको चाप बढेसँगै हेटौँडामा निःशुल्क भोजन सेवा सुरु गरिएको छ।
नागरिक समाज मकवानपुरको पहल तथा हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा बिहीबारदेखि हेटौँडा–१ स्थित भाटभटेनी अगाडि निःशुल्क खाना वितरण थालिएको हो।
धादिङको कृष्णभीरमा नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएर यातायात अवरुद्ध भएको छ। त्यसपछि त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमा सवारीसाधनको चाप बढेको छ। सडकको कमजोर अवस्था, एकतर्फी यातायात र लामो ट्राफिक जामका कारण यात्रु तथा चालक घण्टौँसम्म हेटौँडामा रोकिनुपर्ने अवस्था सिर्जना भएपछि राहतस्वरूप भोजन सेवा सञ्चालन गरिएको नागरिक समाज मकवानपुरले जनाएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिअन्तर्गतको खाद्य तथा स्वच्छता क्लस्टर र नागरिक समाजबीच भएको छलफलपछि अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार सडकको अवस्था सामान्य भई सवारी आवागमन सहज नभएसम्म अभियानलाई निरन्तरता दिइनेछ।
दैनिक दुई चरणमा खाना वितरण गर्ने तयारी गरिएको छ। बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म खाना उपलब्ध गराइनेछ। अभियानमार्फत दैनिक करिब ४ सयदेखि ५ सय जनासम्मलाई भोजन गराउने लक्ष्य राखिएको छ।
स्थानीय रमिला सापकोटाले सडक अवरुद्ध भएकाले त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने यात्रुलाई बाटोमा खाना नपाइन सक्ने भएकाले हेटौँडामा खाना खुवाएर पठाउने अभियान सुरु गरिएको बताउनुभयो। पैसा हुँदा पनि खाना नपाउने परिस्थिति रहेकाले यात्रु तथा चालकको सहजताका लागि कदम चालिएको उहाँले बताउनुभयो।
लामो दूरीका बसका यात्रु, एम्बुलेन्स तथा ढुवानीका सवारीसाधनका चालक र बाढी प्रभावित क्षेत्रबाट आएका विपन्न यात्रुलाई प्राथमिकतामा राखिएको नागरिक समाजकी सापकोटाले बताउनुभयो।
अभियानलाई आगामी दिनमा हेटौँडाका विभिन्न सामाजिक संघसंस्था तथा सहयोगी समूहको सहभागितामा निरन्तरता दिने तयारी गरिएको छ। विभिन्न संस्थाले आलोपालो गरी खाना पकाउने र वितरण गर्ने जिम्मेवारी लिने व्यवस्था गरिएको छ।
निःशुल्क भोजन पाएपछि यात्रु तथा चालकहरूले अभियानलाई समयसापेक्ष र मानवीय पहलका रूपमा लिएका छन्। लामो समयसम्म सडकमा रोकिँदा खानाको समस्या झेलिरहेका यात्रुहरूका लागि यसबाट तत्काल राहत मिलेको उनीहरूको भनाइ छ।
पृथ्वी राजमार्ग बन्द भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै त्रिभुवन राजपथ र कान्ति लोकपथबाट काठमाडौँ जाने सवारीसाधनको चाप हेटौँडामा उल्लेख्य रूपमा बढेको छ। दैनिक उपभोग्य सामग्री, इन्धन तथा अन्य सामान बोकेका ढुवानीका सवारीसाधनसँगै यात्रुवाहक बससमेत यही मार्गबाट सञ्चालन भइरहेकाले हेटौँडाबाट काठमाडौँ जोड्ने वैकल्पिक सडकमा यातायातको चाप बढेको हो।
–न्युज एजेन्सी नेपाल









