१९ भदौ २०८३, शुक्रबार

त्रिशूली–३ ‘ए’को सुरुङबाट उद्धार गरिएका दुवै जनालाई छाउनी ल्याइयो, एकको सामान्य, अर्काको सघन उपचार हुँदै

प्रकाशित मिति :  4 September, 2026 12:13 pm


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका दुवै जनालाई काठमाडौं ल्याइएको छ। उद्धार गरिएकामध्ये एक जनाको अवस्था सामान्य रहेको छ भने अर्का व्यक्तिको सघन उपचार भइरहेको छ।

सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनलाई यसअघि नै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याएर भर्ना गरिएको थियो। उहाँको अवस्था जटिल रहेकाले सघन उपचार भइरहेको प्रधानमन्त्रीकाे कार्यालयले जनाएकाे छ ।

यस्तै, सुरुमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको छ। उनकाे स्वास्थ्य अवस्था स्थिर रहे पनि थप परीक्षण तथा उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइएको छ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र अन्य विज्ञ सम्मिलित संयुक्त टोलीले आज बिहान आयोजनाको सुरुङभित्र फसेका दुवै जनाको उद्धार गरेको हो।

आयोजनाभित्र मानिसहरू फसेको आशंकापछि बाढी आएको केही समयदेखि नै उद्धारको प्रयास जारी राखिएको थियो। प्रतिकूल अवस्था र सुरुङभित्रको कठिन परिस्थितिका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो।

लगातारको प्रयासपछि उद्धार गरिएका दुवै जनालाई तत्काल उपचारका लागि काठमाडौं ल्याइएको हो।

तस्बिर : नेपाल फोटो सर्भिस



प्रतिक्रिया दिनुहोस !