१९ भदौ २०८३, शुक्रबार

सरकारी कोषमा जम्मा नै गर्दैनौँ भनेका होइनौँ, हाम्रो प्राथमिकता पीडितलाई प्रत्यक्ष राहत पुर्‍याउनु होः ओली

प्रकाशित मिति :  4 September, 2026 12:21 pm


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्‍याउनु पार्टीको मुख्य प्राथमिकता रहेको बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा रसुवाका बाढीपहिरो पीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले एमालेले आफ्नै सामर्थ्य र कार्यकर्ताको परिचालनमार्फत राहत सङ्कलन तथा वितरण गरिरहेको जानकारी दिएका छन्। उनका अनुसार पार्टीले प्रारम्भिक रूपमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री वितरण गर्ने लक्ष्य राखे पनि राहतको कुल परिमाण त्योभन्दा बढी हुने देखिएको छ।

उनले राहत सरकारी कोषमा जम्मा गर्नुभन्दा पीडितलाई आवश्यक सामग्री तथा सहयोग प्रत्यक्ष रूपमा उपलब्ध गराउनु प्राथमिकतामा रहेको बताएका छन्। उद्धार तथा राहतका कार्य सम्पन्न भएपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गर्न सकिने उनको भनाइ छ।

राहत रकम सरकारी कोषमा जम्मा गर्ने विषयमा स्पष्ट पार्दै अध्यक्ष ओलीले भने, ‘हामीले सरकारी कोषमा रकम जम्मा नै गर्दैनौँ भनेका होइनौँ। तर सरकारी कोषमा जम्मा भएको रकम समयमै पीडितसम्म पुग्न ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै हामीले सिधै पीडितको हातमा राहत पुर्‍याउने कार्यलाई प्राथमिकता दिएका छौँ।’

हालको विषम परिस्थितिमा उद्धार र राहत वितरण नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले पीडितको आवश्यकतालाई सम्बोधन गर्न पार्टी दत्तचित्त भएर लागिपरेको बताएका छन्।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !