कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड (फाेटाे फिचर)
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मोत्सव अर्थात् श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्।
श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ। जन्माष्टमीका अवसरमा ललितपुरको पाटन दरबार स्क्वायरस्थित ऐतिहासिक कृष्ण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको ठूलो भीड लागेको छ।
मन्दिरमा दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरूको लामो ताँती लागेको छ। पाटनका साथै काठमाडौँको बूढानीलकण्ठस्थित कृष्ण मन्दिरलगायत देशभरका कृष्ण मन्दिरमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।
धार्मिक विश्वासअनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् विष्णुको आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको थियो। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव जातिको रक्षा गर्न वासुदेव र देवकीको कोखबाट उनको जन्म भएको धार्मिक मान्यता छ।
जन्माष्टमीका दिन श्रद्धालुहरू दिनभर व्रत बस्ने, श्रीकृष्णको आराधना गर्ने तथा मध्यरातमा कृष्ण जन्मिएको समयमा विशेष पूजा गरी उत्सव मनाउने गर्दछन्। विभिन्न कृष्ण मन्दिरमा भजनकीर्तन तथा कृष्णको महिमा गानसमेत भइरहेको छ।
कृष्ण जन्माष्टमीका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।















तस्बिर : नेपाल फोटो सर्भिस









