बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन
काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप ७ दिनका लागि निरन्तरता दिने भएको छ।
एनसेलका अनुसार प्रभावित क्षेत्रमा सहज सञ्चार, खोज तथा उद्धार र राहत वितरण कार्यमा सहयोग पु¥याउने उद्देश्यले भदौ २० गतेदेखि भदौ २६ गतेसम्म निःशुल्क सेवा उपलब्ध हुनेछ। यसअघि बाढी आएको दिन भदौ १० गतेबाट तीन दिनका लागि निःशुल्क सेवा घोषणा गरिएको थियो। त्यसपछि अवधि थप गरी भदौ १९ गतेसम्म पु¥याइएको थियो।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्को समयमा सहज सञ्चार सुनिश्चित गर्न निःशुल्क सेवाको अवधि पुनः थप गरिएको बताए। उनका अनुसार बाढीका कारण अवरुद्ध भएका एनसेलका ९२ प्रतिशत टावर पुनः सञ्चालनमा आइसकेका छन्। यसले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने कम्पनीको विश्वास छ।
बाढीका कारण एनसेलका २७ वटा टावर अवरुद्ध भएका थिए। तीमध्ये नुवाकोटको त्रिशूलीमा रहेको २५औँ टावर बिहीबार पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एक टावर पूर्ण रूपमा नष्ट भएको छ भने उत्तरगया–तिरुमा रहेको अर्को टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण पु¥याएर सेवा सञ्चालन गर्ने प्रयास भइरहेको एनसेलले जनाएको छ।
एनसेलले विपद्का समयमा सूचना आदानप्रदान, खोज, उद्धार, राहत तथा जनचेतनामूलक कार्यमा सहयोग गर्दै आएको जनाएको छ। कम्पनीले सम्बन्धित निकायका सूचनामूलक सन्देश एसएमएस, कल टोन तथा सामाजिक सञ्जालमार्फत समेत सम्प्रेषण गर्दै आएको छ। यसैगरी, बाढी गएको भोलिपल्टै खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग गरेको थियो।









