२० भदौ २०८३, शनिबार

त्रिशूली बाढीको ११औँ दिनः सुरुङमा फसेका चिनियाँ नागरिक र बेत्रावतीकी महिलाको जीवितै उद्धार

प्रकाशित मिति :  5 September, 2026 2:35 pm


काठमाडौँ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ११ दिनदेखि फसेका दुई जनाको शनिबार जीवितै उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये एक जना २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ नागरिक रहेका छन्। आयोजनाको अडिट–४ सुरुङमा फसेका उनलाई नेपाली सेना र दक्षिण कोरियाको विपद् व्यवस्थापन विज्ञ टोलीको संयुक्त प्रयासमा उद्धार गरिएको हो।

बाढी आएको ११औँ दिनमा जीवितै फेला परेका उनलाई प्राथमिक उपचारका लागि नुवाकोटको त्रिशूलीस्थित मैथली ब्यारेकतर्फ ल्याइँदैछ।

यसैगरी, नुवाकोटको बेत्रावतीबाट चण्डिका श्रेष्ठ नामकी एक महिलाको पनि शनिबार सकुशल उद्धार गरिएको छ। त्रिशूली नदीको बाढीले घर पुरिएपछि उनी विगत ११ दिनदेखि त्यहीँ फसेकी थिइन्। उद्धार टोलीले उनलाई जीवितै फेला पारेर उद्धार गरेको हो।

बाढी र पहिरोको चपेटामा परी लामो समयदेखि सम्पर्कविहीन रहेका उनीहरूलाई जीवितै उद्धार गरिनु विपद्को समयमा सकारात्मक उपलब्धिका रूपमा लिइएको छ।



प्रतिक्रिया दिनुहोस !