८ बैशाख २०८१, शनिबार

दुबै पद नछोड्ने प्रधानमन्त्री ओलीको भनाई, आफू र राष्ट्रपति विरुद्ध षडयन्त्र भईरहेको दाबी

प्रकाशित मिति :  4 July, 2020 9:11 pm


काठमाडौं,२० असार ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुबै पद नछोड्ने प्रष्ट पार्दै पार्टी एकता जटिल अवस्थामा पुगेको जानकारी गराएका छन् ।

सरकारी निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले अब पार्टी एक भएर जाने सम्भावना निक कम भएको संकेत गरेका हुन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षको दाबाव नमान्ने पनि प्रधानमन्त्री ओलीले प्रष्ट पारेका छन् । बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको विवाद निकै जटिल बनेकाले पार्टी एकता बचाउन त्यसलाई बचाउन आफूले अथक प्रयास गरिरहेकाले सहयोग गर्न समेत आग्रह गरेको स्रोतको भनाई छ ।

राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरु भइरहेको प्रधानमन्त्री ओलीको दाबी थियो । यस्तो बेलामा मन्त्रीहरु कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्रीको भनाई थियो । आज अपराह्न शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका प्रधानमन्त्री ओलीले त्यसपछि सवा सात बजेदेखि झण्डै सवा ८ बजेसम्म छलफल गरेका थिए ।

प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेकपाका नेताहरुले सार्वजनिक अभिव्यक्ति दिईरहेका छन् । विवाद जारी रहेपछि सहमतिका लागि भन्दै आजका लागि तय भएको स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको थियो । तर, बैठक स्थगित गरेपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष आ-आफ्नो तयारीमा छन् ।



प्रतिक्रिया दिनुहोस !