५ जेष्ठ २०८१, शनिबार

सिन्धुपाल्चोकमा बाढीले पुराएको क्षतिप्रति कांग्रेसद्धारा दुःख व्यक्त,उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन

प्रकाशित मिति :  9 July, 2020 11:24 am


काठमाडौं, २५ असार।

नेपाली कांग्रेसले सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटनाप्रति सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेको जानकारी गराएका छन् । कांग्रेसले तत्काल युद्धस्तरमा उद्दारको कार्य गर्न सरकार समक्ष माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘बाह्रबीसे घटनाप्रति दुःख व्यक्त गर्दै सभापति शेरबहादुर देउवाले सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गर्नु भएको छ भने सिन्धुपाल्चोकका नेपाली कांग्रेस साथीहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्नु भएको छ ।’

बाढीका कारण अमूल्य जीवन गुमाउने दुई नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै कांग्रेसले आत्माको चिरशान्तिको कामना गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको गातिस्थित जम्बु बजारमा गएराति बाढी पस्दा १४ घर बगेका छन् भने १९ जना सम्पर्कविहिन भएको प्रारम्भिक अनुमान छ । क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !