३ जेष्ठ २०८१, बिहिबार

सिन्धुपाल्चोकमा बाढीमा बेपत्ता २० जनाको पहिचान, घाइते ५ जनाको काठमाडौंमा उपचार हुँदै

प्रकाशित मिति :  9 July, 2020 7:35 pm


काठमाडौं, २५ असार ।  

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ५–जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा गए रातिको बाढीपहिराले घाइते पाँचसहित सातदिने शिशुलाई हेलिकोप्टरद्वारा उपचारका लागि काठमाण्डौं ल्याईएको छ ।

घाइते हुने जम्बुका ७० वर्षीया बुद्धिमाया तामाङ, २२ वर्षीया सविना बस्नेत र १९ वर्षीय सुरेश बस्नेत तथा बुलकोटेका फुर्वा तामाङ, पेमुलम तामाङ र उनकी छोरी सातदिने शिशुको उपचारका लागि ह्याम्स अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना गरिएको छ ।

घाइतेलाई एयर डाइनेष्टी र माउण्टेन एयरको हेलिकोप्टरद्वारा राजधानी पठाइएका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी   दिए ।

बाढीमा बेपत्ता भएका २० जनाको पहिचान खुलेको छ । बेपत्ता हुनेमा जम्बुका भीमबहादुर वाइवा, चीनमाया वाइवा, लीलामाया वाइवा, पासाङडोल्मा वाइवा, निमाडोल्मा वाइवा, लक्ष्मण वाइवा, सुनमाया वाइवा, जनकबहादुर थिङ छन् ।

त्यस्तै सवीना तामाङ, आकाश तामाङ, लोकबहादुर तामाङ, सलिनी तामाङ, सवेश तामाङ, युक्तबहादुर तामाङ, भोटेकोशी हाइड्रोपावरका सेक्रेटरी हिमेश शर्मा र जाइकाका इञ्जिनीयर आकाश केसी पनि बपत्ता भएको प्रहरीले जनाएको छ ।

बुलकोटेका नीमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङनुर्बु तामाङ र सहिल तामाङ पनि बेपत्ता भएका छन् । बाढीले बस, ट्याङ्कर, ट्रक र कारसमेत बगाएको छ ।

दुवै ठाउँमा गरी ३६ घरटहरा बगेका छन् । भोटेकोशीले बाह्रबीसेस्थित इलाका प्रहरी कार्यालय नजीक अरनिको राजमार्ग र जुरेमा करीब ३०० मिटर सडक बगाएकाले आवागमनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

सभामुखद्धारा दुःख व्यक्त

सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएरातिको बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

घटनास्थलको स्थलगत अवलोकनपछि सिन्धुपाल्चोकको चौतारामा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले बाह्रबिसे नगरपालिका–५ स्थित जम्बु खोलामा गएराति आएको बाढी–पहिरोमा परी घाइतेहुने र पीडित परिवारको उद्दारमा कुनै सम्झैता नहुने बताएका हुन् ।

सभामुख सापकोटाले उद्धार जारी रहेको र राहत सामग्री वितरण भइरहेको उल्लेख गर्दै बेपत्ताको खोजी र उद्धारमा सरकार प्रभावकारी ढङ्गबाट अगाडि बढ्ने बताएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । टेन्ट, मेट्रिक्स, त्रिपाल, भाँडा सेट, कम्बल, कपडालगायतको सामग्री वितरण गरिएको छ ।

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, आन्तरिक मामिलामन्त्री सालिकराम जम्मकट्टेल र वन, वातावरण तथा पर्यटनमन्त्री सरेश नेपाललगायतको टोली घटनास्थलमा पुगेका थिए ।

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।



प्रतिक्रिया दिनुहोस !