७ बैशाख २०८१, शुक्रबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै नाममा धन्दा, ज्योतिषसहित ९ जना पक्राउ

प्रकाशित मिति :  10 July, 2020 7:49 pm


काठमाडौं, २६ असार । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम लिँदै जग्गा व्यवसायीसँग गैरकानुनी लाभ लिएको आरोपमा विभिन्न नौ जनालाई पक्राउ परेका छन् ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–२ चपलीका जग्गा व्यवसायीसँग आयोगमा उजुरी परेको भन्दै धाकधम्की दिएको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले आफूलाई ज्योतिष बताउने अर्जुनकुमार थापा क्षेत्रीसहित विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शङ्करविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेललाई पक्राउ गरेको छ । बिहिबार पक्रा गरिएपनि अनुसन्धानका क्रममा रहेकाले आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले आयोगमा उजुरी परेको, अनुसन्धान प्रक्रिया जारी रहेको, अनुसन्धान रोक्ने भए मलाई भेटनुस् भन्नेजस्ता एसएमएस पठाएको, फोन गरी भेट्न बोलाई डर धम्की दिएको पाइएको छ ।

ओरोपीले डरधम्की दिई बार्गेनिङ गरेर रकम मिलाएको भन्ने सूचनाका आधारमा आयोग र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पठाइएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !