१४ बैशाख २०८१, शुक्रबार

नक्कली व्यक्ति बनाएर जग्गा बिक्री गरेको आरोपमा एक सहसचिवसहित १३ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दायर

प्रकाशित मिति :  12 July, 2020 8:24 pm


काठमाडौं, २८ असार । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना सहसचिव सहित १३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

नवलपरासीको साविक सनई गा.वि.स. वडा नं. ८ मा हदबन्दी रोक्का रहेकोमा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको आरोपमा नवलपरासीका तत्कालिन मालपोत अधिकृत टिकाराम ज्ञवालीसहित १३ जना विरुद्ध ५ करोड ५ लाख ४२ हजार रुपैयाँ विगो कामय गरि विशेष अदालतमा आज मुद्धा दायर गरेको हो ।

अख्तियारका अनुसार अनुसन्धानका क्रममा भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवारले गलत कागजातका आधारमा कानूनविपरीत तीन परिवार संख्या कायम गर्ने गरी गैरकानूनी निर्णय गरेको खुलेको प्रवक्ता प्रदीपकुमार कोईरालाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मालपोत अधिकारी कलवारले गरेको निर्णयलाई कार्यान्वयन गराएको भनी मालपोत कार्यालयका तत्कालीन कार्यरत प्रमुख मालपोत अधिकृत र स्थानीय निकायसमेत प्रलोभनमा परेको अख्तियारको दाबी छ ।

प्रलोभनमा परेर भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोवास गर्ने र नेपालको गेरमी गा.वि.स.मै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका गलत कागजातहरु बनाईएको थियो ।

कागजात बनाएर सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरुसमेत भारतीय नागरिक पि.एस.मेहराको छोरा अनुप मेहरावाट बिक्री बितरण गराएको पाईएको छ । उक्त कार्यमा भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरु तथा स्थानिय निकायवाट सिफारिस दिने कर्मचारीहरु एवं स्थानीय व्यक्तिसमेत संलग्न भएको भन्दै अख्तियारले आज भ्रष्टाचारको मुद्धा दायर गरेको हो ।

हाल सहसचिव रहेका ज्ञवालीसहित तत्कालिन मालपोत अधिकारी ईश्वरप्रकाश कलवारतत्कालिन मालपोत अधिकृत मनोहर प्रसाद पन्थि,तत्कालीन नायब सुब्बा बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिव नन्दलाल दास,बुद्धिसागर सुवेदी,नन्दलाल कुम्हाल कोहार, तत्कालनि कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालिन खरिदार अमृतकुमार काम्मुमगर,खगेन्द्र पराजुली र गेरमी गाँउपालिका ५ का रविन्द्र कुमार खत्रीविरुद्ध मुद्धा दायर गरेको हो ।

अस्तित्वमै नरहेका प्रेम शरण खत्रीका नाममा कायम रहेका जग्गाहरु सम्बन्धित सरकारी कर्मचारीहरु र केही व्यक्तिहरुसँगको मिलेमतोमा अनुप मेहरा भन्ने भारतीय नागरिकलाई अनुप कुमार खत्री बनाई निजकै नामबाट उल्लिखित जग्गाहरु विभिन्न व्यक्तिविशेषहरुलाई बिक्री वितरण गरेको अख्तियारको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !