२२ बैशाख २०८१, शनिबार

नेपाली सेनाको प्रवक्तामा सहायकरथी पौडेल

प्रकाशित मिति :  17 July, 2020 12:40 pm


काठमाडौं, साउन २ ।

नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले पाएका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा पौडेललाई यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेले जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

जङ्गी अड्डामा बिहीबार भएको पत्रकार भेटघाटमा पौडेलले सेना र आमसञ्चारका माध्यमबीच जनताको सुसूचित हुने अधिकारको रक्षा र राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा सन्तुलन बनाइराख्न जोड दिए ।

उनले भने, ‘जनताको सुसूचित हुने अधिकारको रक्षा गर्छौं, राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई समानान्तररुपमा लैजाने विषयमा सन्तुलन कायम हुनुपर्छ, हामी दुवैको मिलन बिन्दु र प्रस्थान बिन्दु त्यही नै हो ।’

नवनियुक्त प्रवक्ता पौडेल यसअघि जङ्गी अड्डास्थित १५ नं बाहिनी र आपूर्ति तथा परिवहन निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए ।
झण्डै १५ महिना प्रवक्ताको जिम्मेवारी सम्हालेका पाण्डेका सरुवा भएपछि पौडेल प्रवक्ताको जिम्मेवारीमा आएका हुन् ।

पत्रकार भेटघाटमा उनले सेना र प्रेसजगत् कार्य प्रकृतिका हिसाबले दुई भिन्न क्षेत्र भए पनि अखण्ड, समृद्ध, शान्त राष्ट्र नेपाल निर्माणमा दुवैको भूमिका र जिम्मेवारी उच्च र अन्योन्याश्रित रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !