११ बैशाख २०८१, मंगलबार

नेकपाद्धारा बाढी-पहिरोमा परेकाहरूको उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारको ध्याकर्षण

प्रकाशित मिति :  21 July, 2020 2:53 pm


काठमाडौं, साउन ६ ।  

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाढी-पहिरोमा परेकाहरूको उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारलाई ध्यानाकर्षण गराएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले  क्षति भएका सडक, पुलहरू निर्माण र पहिरोमा घरबारविहीनहरूलाई अस्थायी बसोबासको प्रबन्ध तथा राहत उपलब्ध गराउन आग्रह समेत गरेको छ ।

पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक आज केही बेर बसेको थियो । प्राकृतिक विपदबारे एउटा प्रस्तावमा छलफल गर्दै आज बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अर्को बैठक साउन १३ गते ११ बजे बालुवाटारमा बैठक बस्ने गरी स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बैठकले प्राकृतिक विपदमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्रलाभको कामना गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।बैठकपछि पत्रकारहरूसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले देशैभर बाढी(पहिरोबाट जनधनको क्षति भएकोले स्थायी कमिटी बैठक स्थगित गरिएको बताए।

पार्टीका कार्यकर्तालाई बाढी-पहिरोमा परेकाहरूको उद्धारमा परिचालन गर्नेसमेत निर्णय भएको उनले जानकारी दिए। आजको स्थायी कमिटी बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन् । यसबारे पत्रकारहरूको प्रश्नमा प्रवक्ता श्रेष्ठले अन्य कामले गर्दा प्रधानमन्त्री थकान लागेकोले बैठकमा अनुपस्थित रहेको बताए।

बैठक बस्नुअघि अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। पार्टीभित्र देखिएका विवादबारे छलफल जारी नै रहेको र कुनै सहमतिमा नपुगेको उनले बताएका छन्।

स्थायी कमिटी बैठक छ महिनासम्म चल्ने हो ? भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले वर्षाले एक साता पर धकलिए पनि गृहकार्य भइरहेकोले छिट्टै बैठक टुंगोमा पुग्ने जानकारी दिए। उनले पार्टी एकता रक्षा गर्ने गरी नै निकास दिने बताए।



प्रतिक्रिया दिनुहोस !