१३ बैशाख २०८१, बिहिबार

कारोना संक्रमण र बाढीपहिरोबारे नयाँ रणनीति बनाउन प्रधानमन्त्रीलाई कांग्रेस सभापति देउवाको आग्रह

प्रकाशित मिति :  23 July, 2020 3:17 pm


काठमाडौं, ८ साउन ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण र बाढी पहिरोको चुनौति सामनाका लागि विशेष रणनीति अपनाउन सरकारलाई आग्रह गरेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बन्दाबन्दीका बाबजुद सङ्क्रमितको सङ्ख्या २० हजार पुग्न लागेको र तीन दर्जनभन्दा बढीको मृत्यु भएको स्थितिमा बन्दाबन्दी खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सभापति देउवाले आग्रह गरेका हुन् ।

काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कोरोना परीक्षण पिसिआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टाईनहरु अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

सभापति देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन र बाढी तथा पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंँको मृत्यु, कयौं बेपत्ता र सयौं घरबारविहीन भएको हुँदा युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गरेका छन् ।

कोरोना सृजित चुनौतीका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको मुख्य सचिव पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस !