१३ बैशाख २०८१, बिहिबार

लागुऔषध अफिमसहित रोल्पाका ४ जना पक्राउ, १० दिन म्याद थपेर अनुसन्धान सुरु

प्रकाशित मिति :  25 July, 2020 7:53 pm


दाङ, १० साउन ।

दाङको भालुवाङबाट झण्डै सात किलो अफिमसहित पक्राउ परेका रोल्पाका ४ जनालाई १० दिनको म्याद थप गरेर प्रहरील अनुसन्धान सुरु गरेको छ ।

अफिमसहित पक्राउ परेका रोल्पा सुनछहरी गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय दुजबहादुर रोका, सुनछहरी गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय लालमन घर्ती मगर, ३२ वर्षीय हर्कबहादुर घर्ती मगर र २२ वर्षीय लालसिंह विकलाई प्रहरीले हिजो पक्राउ गरेको थियो ।

पक्राउ परेका ४ जनालाई आज सार्वजनिक गर्दै जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले उनीहरूको साथबाट ६ किलो ९६७ ग्राम अफिम बरामद गरिएको जानकारी दिए।

उनीहरुलाई राप्ती गाउँपालिकाको भालुवाङस्थित दक्षिणकाली सोल्टी होटेलबाट बिहीबार बेलुकी पक्राउ गरेको एसपी चन्दले जानकारी दिए ।

प्रहरीले उनीहरुले प्रयोग गरेको लु १ च ६१७१ नम्वरको सेतो रङको बलेरो जीप, लु ४० प ९८०६ नम्वरको २२० सिसीको पल्सर मोटरसाइकल र विभिन्न कम्पनीका ५ थान मोवाइलसमेत नियन्त्रणमा लिएको जानकारी दिएको छ । एसपी चन्दले जिल्ला अदालतबाट लागुऔषध मुद्दामा दश दिनको म्याद थप गरि अनुसन्धान सुरू गरिएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !