७ बैशाख २०८१, शुक्रबार

घरायसी ग्राहकको घरमा स्मार्ट मिटर जडान सुरु,आधुनिकरणमा कोशेढुंगा हुने उर्जामन्त्री पुनको भनाई

प्रकाशित मिति :  9 August, 2020 9:22 pm


काठमाडौं, २५ साउन ।

नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटर हटाएर स्मार्ट मिटर जडान सुरु गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आज काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–९को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका छन् ।

मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने छ । स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ ।

स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नु पर्ने छैन । विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबाटै मिटर रिडिङ गर्न सकिने र विल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिने छ ।

मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुने छ । कसैले मिटर बाइपास गरी विद्युत चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने छ । स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमाण्ड चुहावट नियन्त्रण हुन्छ ।

कार्यक्रममा मन्त्री पुनले सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनिकरण र चुस्तता कायम गर्नु भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको सुरुवात एउटा कोशेढुंगा भएको बताए ।

“स्मार्ट मिटरको जडान मात्रै हैन, संघीय राजधानीलगायत मुलुकका मुख्यमुख्य सहरमा विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सहरी सौन्दर्यता बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम गरिरहेका छौं”, प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले भने ।

“प्राधिकरणको प्रस्तावमा विद्युत नियमन आयोगमार्फत इतिहासमै पहिलोपल्ट उपभोक्ता महसुल घटाएका छौं भने प्राधिकरणलाई दुई वर्षदेखि सबैभन्दा बढी नाफा कमाउने मुलककै एक नम्बरको संस्था बनाउन सफल भएका छौं, इमान्दार प्रयास गरिएमा गर्न सकिन्छ भन्ने पुष्टी भएको छ ।”

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले दुई वर्षअघि स्वतपत्रमार्फत घोषणा गरिएको ५ वर्षभित्र स्मार्ट ग्रिड र मिटरमिटर लागू गर्ने भनिएको कार्यक्रम कार्यान्वयनको उत्साहजनक प्रगति रहेको बताए । त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २ हजार ५ सय देखि ३ हजारसम्म कर्मचारीको खर्च कम हुने बताए ।

उनले भने ,”स्मार्ट मिटरमा हरेक घण्टाको महसुल फरक–फरक कायम गर्न सकिने हुँदा पिक, अफ पिक र नर्मल समयमा ग्राहकको फरक–फरक महसुल तोक्न सकिने छ, साथै अव चाँडै वर्षायाममा बढी विद्युत उत्पादन हुँदैछ, त्यसको खपत बढाउन सस्तो महसुल कायम गर्न सकिन्छ भने हिउँदयामको महसुल पनि फरक तोक्न सकिने छ ।”

 



प्रतिक्रिया दिनुहोस !