८ बैशाख २०८१, शनिबार

रोल्पा पुगेर नेकपा विवादबारे पूर्वभामुख महराले भने, ‘एकताको विकल्प छैन, आवश्यक परे भूमिका खेल्छु’

प्रकाशित मिति :  10 August, 2020 8:28 am


बी.एन. आचार्य

रोल्पा, २६ साउन ।

पूर्वसभामुख कृष्णबहादुर महराले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादबारे चिन्ता व्यक्त गरेका छन् । गृह जिल्ला रोल्पा पुगेका महराले लुम्बिनी सञ्चारसँग संक्षिप्त कुरा गर्दै अहिले पार्टीमा एकताको विकल्प नभएको बताए ।

दाङमा मतदाता भेटघाटका क्रममा पूर्वसभामुख महरा

उनले भने,“मैले नेता–कार्यकर्ता र आम जनता दाङ आएरपनि भेटे, रोल्पा आएरपनि भेटे, अधिकांशको मनोभावना जुटेर जानुपर्छ भन्ने छ , जुट्नै पर्छ यो अहिलेको आवश्यकता हो, देशको लागि पनि आवश्यकता हो र कार्यकर्ताको मनोभावना पनि त्यै छ ।”

पूर्वसभामुख महरा एक हप्ता पहिले आफ्नो निर्वाचन क्षेत्र दाङ पुगेर नेता कार्यकर्ता र मतदातासँग भेट गरेपछि गृह जिल्ला रोल्पा पुगेका हुन् ।
सत्तारुढ नेकपा भित्र विवाद चर्किरहेका बेला महरा आफ्नो निर्वाचन क्षेत्र र गृह जिल्ला रोल्पा पुगेर पार्टीभित्रको विवादबारे पहिलो पटक मुख खोलेका हुन् ।

पार्टीभित्र संकट पर्दा समन्वयकारी भूमिकामा देखिने पूर्वसभामुख महराले आवश्यक परे आफूले भूमिका निर्वाह गर्न सक्ने बताए ।

उनले भने,“घरतिर त्यस्तो कुनै योजना भएर आएको होईन, साथीभाइसँग भेटघाट र छलफलका लागि आएको हो तर पार्टीभित्रको विवाद समाधानका लागि मैलै कतै भूमिका खेल्नुपर्ने भए काठमाडौं पुगेर आवश्यक भूमिका खेल्छु,फुट् राम्रो होईन जुट्नै पर्छ । कुनै हालतमा पनि जुट्नुपर्छ ।”

रोल्पामा जनप्रतिनिधि तथा कार्यकर्तासँगको भेटघाटका क्रममा पूर्वसभामुख महरा

 

पूर्व सभामुख महराले पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि भएकाले केपी शर्मा ओलीले अविभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । शिर्ष तहमा छलफल समेत नहुने स्थिति बनेकोप्रति चिन्ता व्यक्त गर्दै महराले छलफल र बहस गरे मात्रै निकाशमा पुग्न सकिने बताए । उनले भने,“छलफल र वार्ता गरे एउटा निकाश निस्कन्छ तर जुन गतिरोधको स्थिति छ त्यो राम्रो होईन ।”

 

सत्तारुढ नेकपाभित्र विवाद चर्कदै गएपछि शिर्ष तहमा छलफलमा समेत रोकिएको छ । केन्द्रीय सदस्यहरुले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै केन्द्रीय सदस्यमा हस्ताक्षर बुझाएका छन् भने पार्टी विभाजन तर्फ नलैजान माग गर्दै ६१ जना सांसदले हिजो मात्रै पत्रकार सम्मेलन गरेका थिए ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक समेत अवरुद्ध छ । पार्टी भित्र चौतफी गतिरोध देखिएका बेला पूर्व सभामुख महराले काठमाडौं फर्केर आवश्यक भूमिका खेल्ने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस !