१५ बैशाख २०८१, शनिबार

नेपाल विद्युत प्राधिकरण गर्व गर्न लायक संस्था बन्यो: उर्जा मन्त्री पुन

प्रकाशित मिति :  17 August, 2020 1:01 pm


काठमाडौं, १ भदौ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरण गर्व गर्न लायक संस्था बनेको दावी गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको स्थापनाको ३५औं वर्ष पुरा भएको अवसरमा आज शुभ–कामना सन्देश जारी गर्दै मन्त्री पुनले पछिल्लो समय प्राधिकरणले आफूलाई नाफामुखी मात्र नभई सेवामुखी संस्थाका रुपमा स्थापित गर्न सकेकामा खुसी व्यक्त गरेका छन्।

मन्त्री पुनको शुभकामना सन्देशमा भनिएको छ, “विद्युत महसुल दरमा वृद्धि नगरीकनै चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमतामा सुधार ल्याई प्राधिकरण आफ्नो इतिहासमा सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।”

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा नीति कार्यक्रममार्फत मासिक १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ ।

प्राधिकरणको चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमता सुधारका कारण इतिहासमै सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको, घरेलु ग्राहकको विद्युत महसुल घटाउन सफल भएको तथा मासिक १० युनटिभन्दा कम विद्युत खपत गर्ने करिब ८ लाख विपन्न ग्राहकलाई पूर्ण रुपमा विद्युत महसुलमा छुट दिइएको मन्त्री पुनले बताए।

सन्देशमा मन्त्री पुनले प्राधिकरणले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयको योजना तथा नीतिहरूलाई आफ्नो केन्द्रीय योजना तथा सञ्चालन प्रक्रियामा समावेश गरेर कार्यान्वयन गरी नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पुर्याएको उल्लेख गरेका छन्।

स्वदेशमै विद्युत उत्पादन वृद्धि गर्ने उद्देश्यले प्राधिकरणले नीजिसहित विभिन्न प्रवर्धकहरुसँग करिब ६ हजार मेगावाटको विद्युत खरिद सम्झौतामा हस्ताक्षर गरेको र प्रसारण तथा वितरण संरचनाहरुको सुधारमा समेत दत्तचित्त भई कार्य गरिरहेको मन्त्री पुनको भनाइ छ।

उनले ५ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको व्यापारिक उत्पादन तथा ढल्केबर सवस्टेशनको ४ सय केभीमा स्तरोन्नति कार्य ऊर्जा क्षेत्रको प्रमुख कोसेढुङ्गाका रुपमा रहने भन्दै त्यसबाट नेपालको ऊर्जा सुरक्षामा सुधार हुने र क्षेत्रीय विद्युत व्यापारमा बढावा मिल्ने शुभकामना मार्फत विश्वास व्यक्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !