१५ बैशाख २०८१, शनिबार

मालीमा सैनिक विद्रोह, सेनाले गिरफ्तार गरेपछि राष्ट्रपतिद्धारा राजिनामा दिंदै संसद विघटनको घोषणा

प्रकाशित मिति :  19 August, 2020 8:18 am


काठमाडौं, ३ भदौ ।

मालीमा सैनिक विद्रोह भएको छ । राष्ट्रपति इब्राहिम बुबाकार केइटालाई सेनाले गिरफ्तार गरेपछि उनले राजिनामा दिदै संसद विघटनको घोषणा गरेका छन् ।

मालीका राष्ट्रपतिसँगै प्रधानमन्त्री बोबू सिसेलाई पनि सेनाले गिरफ्तार गरेको छ । मंगलबार मालीको राजधानी नजिक एक सैनिक क्याम्पमा गोलीको आवाज सुनिएसँगै विद्राह सुरु भएको थियो ।

सेनाका असन्तुष्ट जुनियर अधिृकतहरुले कमाण्डरलाई नियन्त्रणमा लिएर क्याम्प कब्जा गरेको बीबीसीले जनाएको छ । लगत्तै युवाको समूहले शहरका सरकारी भवनहरुमा आगजानी गरेका थिए । मालीमा राष्ट्रपतिको राजिनामाको माग गर्दै विरोध प्रर्दशन भइरहेका बेला सैनिक बिद्रोह भएको हो ।

सैनिक बिद्रोहपछि राष्ट्रपति इब्राहिमले आज बिहानै पदबाट राजिनामाको घोषणा गर्दै सैनिक बिद्रोहपछि देशलाई राजनीतिक संकटमा पार्नेहरुसँग आफू रक्तपातपूर्ण स्थिति नचाहेको बताएका छन् ।

राष्ट्रीय टेलिभिजनबाट प्रशारित एक संक्षिप्त सम्बोधनमा उनले भनेका छन्, “आज सेनाको केही समूहले हस्तक्षेप गर्ने निर्णय गरेको छ । के मेरो साथ कुनै विकल्प छैन त ? तर मलाई रगत बगोस भन्ने चाहना छैन ।”

सैनिक बिद्रोह भनेपनि अहिलेसम्म सैन्य अधिकारीले सरकारको जिम्मेवारी लिए नलिएको बारे स्पष्ट नभएको अलजजिराले उल्लेख गरेको छ ।

केइटा सन् २०१८ मा दोस्रो कार्यकालका लागि चुनाव जितेका थिए । तर भ्रष्टाचार, अर्थव्यवस्थामा देखिएको समस्या र कतिपय क्षेत्रमा भएको साम्प्रदायिक हिंसाका कारण उनीप्रतिको असन्तुष्टि बढ्दै गएको थियो ।  यो बर्ष उनले ठूला ठूला प्रर्दशनको सामना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !