१३ बैशाख २०८१, बिहिबार

टर्कीद्धारा अहिलेसम्मकै ठूलो प्राकृतिक ग्यास भण्डार पत्ता लगाएको घोषणा, सन् २०२३ सम्म प्रयोग गर्ने लक्ष्य

प्रकाशित मिति :  22 August, 2020 7:45 am


काठमाडौं, ६ भदौ ।

टर्कीले अहिलेसम्मकै ठूलो प्राकृतिक ग्यास पत्ता लगाएको घोषणा गरेको छ ।

राष्ट्रपति रिचप्प तैयिप अर्दोनले पत्रकार सम्मेलन गरेर टर्कीले कालो समुद्रमा अहिलेसम्मको सबैभन्दा ठूलो प्राकृतिक ग्यास भेट्टाएको जानकारी गराएका हुन् । उनले यो प्राकृतिक ग्यासलाई सन् २०२३ सम्म प्रयोगमा ल्याउने लक्ष्य राखेको बताएका छन् ।

उनले पत्रकार सम्मेलनमा भने, “हाम्रो लक्ष्य भनेको सन् २०२३ सम्म कालो सागरबाट ग्यास निकालेर प्रयोगमा ल्याउने रहेको छ ।”

इस्तानबुलमा पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति अर्दोनले फतेह नामको ड्रिलिङ जहाजले ३२० अर्ब घन मिटर प्राकृतिक ग्यास रहेको पत्ता लगाएको जानकारी दिए । उनले यसलाई टर्कीको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास पत्ता लागेको बताएका छन् । राष्ट्रपति अर्दोनले उक्त क्षेत्रमा थप ग्यासको खोजी हुने बताएका बीबीसीले जनाएको छ ।

टर्कीले पूर्वी भूमध्यसागरबाट पनि ’शुभ समाचार’ पाउने अपेक्षा गरिरहेको भन्दै टर्कीले पनि यस ठाउँमा ग्यास खोजीरहेको उनले जानकारी   दिए ।

राष्ट्रपति अर्दोनले “अहिलेसम्म यो भूमध्यसागर र कालो समुद्रमा फतेह र याभज जहाजको माध्यमबाट नौ पटकसम्म गहिरो उत्खनन गरिएको छ । हामी हाम्रो देशको ऊर्जा समस्यालाई पूर्ण रूपमा समाधान गर्न कटिबद्ध छौं ।”

यो खोजपछि टर्की प्राकृतिक ग्यासका लागि रसिया, इरान र अजरबैजानमाथीको निर्भर अन्त्य हुने विश्वास व्यक्त गरिएको छ । अर्थमन्त्री बेराट अलबैरकले ग्यास भण्डार पत्ता लागेपछि देशको अर्थव्यवस्थाको सामना गर्ने चुनौतीलाई जित्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

पूर्वी भूमध्यसागरमा ग्यासको खोजीको क्रममा टर्की र ग्रीसबीच तनाव भएको छ ।  युएस जियोलोजिकल सर्वेक्षणका अनुसार यस क्षेत्रमा ३५० अर्ब क्युबिट प्राकृतिक ग्यास र १ दशमलव ७ ब्यारेल तेलको भण्डार छ ।



प्रतिक्रिया दिनुहोस !