६ जेष्ठ २०८१, आइतबार

पर्यटन मन्त्रालयले भन्यो ,’कोरोना महामारीका कारण अपेक्षित प्रगति गर्न सकिएन’

प्रकाशित मिति :  25 August, 2020 7:28 pm


काठमाडौं, ९ भदौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड–१९ महामारीकाका कारण अपेक्षित प्रगति गर्न नसकेको स्वीकार गरेको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति हासिल गरेको मन्त्रालयले आज सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख छ । मन्त्रालयले आव २०७६/०७७ संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा केही महत्वपूर्ण कार्य भने गरेको उल्लेख छ ।

भर्चुअल बैठक मार्फत वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले सबैभन्दाबढी पूँजिगत खर्च तथा वित्तीय र भौतिक प्रगति हुनुपर्ने समयमा प्रतिकूल परिस्थिति सिर्जना भएकाले अपेक्षित प्रगति हुन नसकेको बताए ।

कोभिड–१९ महामारीका कारण पुस/माघ महिनादेखि असार÷साउन महिनासम्म धेरै काम हुन पाएन, त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरणमो यो वर्ष मन्त्रालयको पूँजिगत खर्च ६४ पैतिशत र वित्तीय खर्च ५४ प्रतिशत गरी समग्रमा झण्डै ६० प्रतिशत मात्र प्रगति भएको छ । चालु खर्चमा ८० प्रतिशत प्रगति भएको छ ।

मन्त्रालयले नीतिगततर्फ हवाई सेवा प्राधिकरण विधेयक, २०७७ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७७ संघीय संसदमा पेश भई छलफलको क्रममा रहेको छ । हवाई नीतिको मस्यौदा बनेको प्रगति विवरणमा उल्लेख छ ।

मन्त्रालयको आब २०७५/०७६ मा कूल बजेट रु ३३ अर्ब १३ करोडा ३७ लाख रहेको थियो । आव २०७६/०७७ मा २१ अर्ब २१ करोड ६९ लाख कूल बजेट रहेको छ । आर्व २०७५/०७६ मा ८१ प्रतिशत रहेको औषत खर्च २०७६/०७७ भने ४९ प्रतिशत मात्र रहेको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

वित्तीय व्यवस्थापनतर्फ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो रकम विनियोजन भई खर्च हुन नसक्नु तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रकम भुत्तानी हुन नसक्नुले वित्तीय व्यवस्थातर्फ कम खर्च हुन गई समग्र बजेट खर्च घटेको मन्त्रालयले उल्लेख गरेको छ । यसका साथै कोभिड–१९ महामारीका कारण खर्च प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय र मातहत निकायको मुख्य काम र खर्च हुने समयमा कोरोनाको प्रभावले नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पार्दा त्यसको प्रत्यक्ष असर मन्त्रालयको वार्षिक योजना कार्यक्रम कार्यान्वयनमा देखिएको भन्दै प्रगति पुस्तकमा परिणामस्वरुप मन्त्रालयले अपेक्षित नतिजा हासिल गर्न नसकेको भनिएको छ ।

तथापि, महामारीकैबीच पनि मन्त्रालयले कतिपय परियोजनामा उल्लेखनीय सफलता हात पारेको मन्त्रालयको दाबी छ । मन्त्रालय मातहतका राष्ट्रिय गौरबको आयोजनाको उल्लेख्य प्रगति देखिएको पुस्तिकामा दाबी गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषको ७० प्रतिशत, लुम्बिनी विकास कोषको ९५ प्रतिशत, भैरहवामा निर्माणाधिन गौतमबुद्ध विमानस्थलको ८५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६१ प्रतिशत प्रगति भएको जानकारी गराइएको छ । यीमध्ये पोखरा र गौतमबुद्ध विमानस्थल आयोजनाको काममहामारीकाबीच निरन्तर भइरहेको भन्दै मन्त्रालयले भैरहवा विमानस्थल सन्निकट सञ्चालनको तयारीमा रहेको जानकारी गराएको छ ।

पर्यटनमन्त्री भट्टराईका अनुसार बत्ती जडान तथा केही उपकरण जडानको काम मात्रै बाँकी छ । अबको तीन देखि ६ महिनाभित्र विमानस्थल व्यवसायिक सञ्चालनमा आउनेछ । विदेशी प्राविधिक चाहिने भएकाले केही महिना काममा बिलम्ब भएको जनाइएको छ ।

भूकम्पछिको पुन:निर्माणमा तीब्रता

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणमा सकारात्मक प्रगति रहेको प्रगति विवरणमा उल्लेख छ । हालसम्म ४५३ सम्पदाको पुनःनिर्माण कार्य सकिएको छ ।

सुन्धारास्थित निर्माणाधिन २२ तले धरहराको काम तीब्र गतिमा भइरहेको भन्दै मन्त्रालयले रानीपोखरी निर्माणको काम पनि अन्तिम चरणमा पुगेको पर्यटनमन्त्री भट्टराईले जानकारी दिएका छन ।

पुरातात्विक स्थल संरक्षण सातवटै प्रदेशमा अघि बढाइएको र ग्रेट हिमालयन ट्रेटलको ७७ किलोमिटर निर्मिाण सकिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । १२७ किलो मिटरको विस्तृत आयोजना प्रतिवेदन तयार भएको जानकारी दिदै मन्त्रालयद्धारा घोषित स्थापित तथा नयाँ विभिन्न १९२ गन्तब्यमध्ये १२२ को सतप्रतिशत र ७० गन्तब्यको ५० प्रतिशत पर्यटकीय पूर्वाधारको काम सम्पन्न भएको भनिएको छ ।

बहुप्रतिक्षीत निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अहिले विमानस्थल निर्माण क्षेत्रमा पर्ने १९ हेक्टर क्षेत्रफलमा पर्ने रुख कटानका लागि हालसम्म ६० हजार रुख गणना भइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

निगमको सम्पत्ति ५४ अर्ब १७ करोड

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को कुल सम्पत्ति ५४ अर्ब १७ करोड रहेको उल्लेख छ । निगमको ४५ अर्ब ९४ करोड ऋण देखिएको छ भने खुद सम्पत्ति ८ अर्ब २३ करोड रहेको मन्त्रालयले जनाएको छ ।

निगममा रहेका चिनियाँ जहाजको व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा राय मागिएको पर्यटनमन्त्री भट्टराईले बताए । आन्तरिक उडानमा निगमको बलियो उपस्थिति चाहिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा जहाज थप्ने कार्य पनि अघि बढेको उनले जानकारी दिए ।

भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारी गरिएको र योसँगै चार्टर्ड उडान क्रमशः कम हुने मन्त्रालयले जनाएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै मन्त्रालयले हिमाली र पहाडी क्षेत्रमा आन्तरिक उडान सञ्चालन गर्ने तयारीमा जुटेको मन्त्री भट्टराईले जानकारी दिएका छन ।



प्रतिक्रिया दिनुहोस !