१५ चैत्र २०८०, बिहिबार

गृहजिल्लामै बसिरहेका पूर्व सभामुख महरालाई भेटेर उर्जामन्त्री पुनले सुनाए ‘सकारात्मक सन्देश’ 

प्रकाशित मिति :  8 September, 2020 5:59 pm


रोल्पा, २३ भदौ ।

रोल्पास्थित आफ्नै घरमा बसेका पूर्व सभामुख कृष्णबहादुर महरालाई भेटेर उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनले सकारात्मक सन्देश सुनाएका छन् ।

पुर्खौली घर रोल्पा नगरपालिकाको मेवाङमा बस्दै आएका महरालाई पुनले आज बिहान ८ भेट्न पुगेका थिए । सरकारी कार्यक्रमको शिलशिलामा हिजो रोल्पा पुगेका मन्त्री पुनले पूर्व सभामुख महरालाई भेटेका हुन् ।

भेटमा समसामयिक राजनीतिक छलफल भएको थियो । छलफलका क्रममा मन्त्री पुनले पार्टीको जिम्मेबारीमा फर्काउने गरि आउँदो स्थायी कमिटी बैठकले निर्णय गर्न सक्ने जानकारी महरालाई गराएका छन् । भेटबारे जानकारी दिदै मन्त्री पुनका सचिवालय सदस्य जीवन रोकामगरले भने, “समग्र राजनीतिक परस्थितिबारे छलफल भयो । भेटमा महरा सर पार्टीको जिम्मेबारीमा फर्कने विषयमा पनि स्वाविक छलफल हुने नै भयो ।”

छलफलका क्रममा पूर्व सभामुख महराले ‘पार्टीले कहिले निर्णय गर्छ त्यसै अनुसार अब सकृय हुनुपर्ला’ भनेका थिए । जवाफमा उर्जा मन्त्री पुनले अब स्थायी कमिटी बैठक बस्ने र सम्भवत: त्यसैबाट निर्णय हुने जानकारी गराएका थिए ।

महरा सभामुखमा निर्वाचित भएपछि विगतको परम्परा अनुसार पार्टीबाट राजिनामा दिएका थिए । सभामुख रहेकै बेला बलात्कारको आरोप लागेपछि महराले पदबाट राजिनामा दिए । तर, उक्त आरोपबाट महरालाई अदालतले सफाइ दिइसकेको छ ।

उनी अहिले धेरैजसो निर्वाचन क्षेत्र दाङ र गृह जिल्ला रोल्पामा समय विताइरहेका छन् । रोल्पामै रहेका महराले पछिल्लो समय पार्टीमा सकृय हुन चाहिरहेका बेला उर्जा मन्त्री पुनले काठमाडौंबाट सकारात्मक सन्देश लिएर गएका हुन् । नेकपाभित्र पूर्वसभामुख महरालाई स्थायी कमिटीमा ल्याउने गरि छलफल चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !