२१ बैशाख २०८१, शुक्रबार

पर्वतको फलेवास नगरपालिकामा पहिरोले बालिकाको मृत्यु

प्रकाशित मिति :  14 September, 2020 11:19 am


पर्वत, २९ भदौ ।

पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

स्थानीयवासी नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । गए राति २ बजेदेखि निरन्तर परेको वर्षापछि घरमाथिबाट खसेको पहिरामा पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेका हुन् ।

परिवारका अन्य व्यक्ति भने पहिरो खसिरहेका अवस्थामा भागेर बाँच्न सफल भएका प्रहरीले जनाएको छ । पहिरोले विकका दुई भैँसी र दुई गाईसमेत पुरिएका छन् । त्यस्तै पहिराबाट स्थानीयवासी रामप्रसाद तिवारीको गोठ भत्किँदा गोरु मरेको छ । सोही पहिरोका कारण करिब १ सय रोपनी धानखेतमा क्षति पुगेको वडाध्यक्ष टीकाराम गौडेलले जानकारी दिए ।

पर्वत प्रहरीका प्रवक्ता एवं निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार राति पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको पर्वतखण्ड अवरुद्ध भएको  छ ।

कुश्मा–८ चुवा र कुश्मा–१ पाङको सहस्रधारामा खसेको पहिराले राजमार्ग अवरुद्ध भएको हो । त्यस्तै कुश्मा नगरपालिका–२ स्थित रिठेखोलामा आएको बाढीले समेत यातायात अवरुद्ध बनेको छ ।



प्रतिक्रिया दिनुहोस !