१६ चैत्र २०८०, शुक्रबार

पर्वतारोहण तथा पदयात्रा सम्बन्धी मापदण्ड जारी, पर्यटकले कम्तिमा ७ दिन क्वारेन्टाइन बस्नुपर्ने

प्रकाशित मिति :  29 September, 2020 10:42 am


काठमाडौँ, १३ असोज । 

संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रा सम्बन्धी मापदण्ड जारी गरेको छ ।

मन्त्रालयले पर्वतारोहण वा पदयात्राका लागि नेपाल आउने पर्यटकहरुले पालना गर्नुपर्ने सर्त तथा मापदण्ड जारी गरेको हो । मापदण्ड अनुसार पर्यटकले नेपाल प्रवेश गर्दा सम्बन्धित अध्यागमन विन्दुमा बढीमा ७२ घण्टा अगाडि कोरोना पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ ।

कम्तिमा ७ दिन क्वारेन्टाइनमा रहँदा रहने गरि नेपालमा होटेल बुकिङ गरेको कागजात तथा नेपाल आउनका लागि प्राप्त गरेको भिसा वा पूर्व स्वीकृतिको कागजजात पर्यटकसँग हुनुपर्ने छ । पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्ने छ ।

तर, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्थामा वा समूहमा पर्वतारोहण वा पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपाल नेपाल स्थिति ट्राभल वा टे«किङ एजेन्सीको समन्वयमा पूर्व स्वीकृति लिएर नेपाल आउन सक्नेछन् ।

मापदण्डमा भनिएको छ,“पूर्व स्वीकृतिको लागि सम्बन्धित एजेन्सीले पेश गरेका पर्वतारोहण गर्ने पर्यटकको लागि पर्यटन विभाग र पदयात्रा गर्ने पर्यटनका लागि नेपाल पर्यटन बोर्ड मार्फत अध्यागमन विभागमा सिफारिस गरिने छ र सम्बन्धित एजेन्सीलाई सिफारिसको जानकारी दिईने    छ ।”

सिफारिस गरिएका पर्यटक नेपाल आउँदा अध्यागमन बिभागबाट सम्बन्धित अध्यागमन विन्दुमा भिसा उपलब्ध गराउने प्रबन्ध हुने पर्यटन मन्त्रलयले जनाएको छ ।

नेपाल प्रवेश गरेपछि पर्यटकहरु न्यूनतम सात दिन होटेल क्वारेन्टाइनमा बस्नुपर्ने छ । होटेल क्वारेन्टाइन अवधिको पाँचौ दिन निजकै खर्चमा पीसीआर परीक्षण गर्नुपर्ने छ ।

रिपोर्ट पोजेटिभ देखिएको खण्डमा पर्यटक पर्वतारोहणमा जान पाउने छैनन् । नेपालमा पर्वतारोहण वा पदयात्रा कार्य गर्दा नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा स्वीकृत स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !