२१ बैशाख २०८१, शुक्रबार

संसदीय उपसमितिद्धारा काठमाडौं उपत्यकाबाहिर कोरोनाबारे सरकारले गरेका कामको अनुगमन सुरु

प्रकाशित मिति :  30 September, 2020 9:32 am


काठमाडौं, १४ असोज ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले काठमाडौं उपत्यकाबाहिर कोभिड-१९ का सम्बन्धमा सरकारको कामकारबाहीबारे अनुगमन सुरु गरेको छ ।

अनुगमनका लागि उपसमिति संयोजक जीवनराम श्रेष्ठको नेतृत्वमा टोली काठमाडौँबाट आज प्रदेश १ तर्फ हिँडेको छ । उपसमितिले प्रदेश १,२ र बागमती प्रदेशमा अनुगमन गर्ने छ ।

उपसमितिले भोली प्रदेश १ का मुख्यमन्त्रीसँग छलफल गर्ने छ भने नोबेल मेडिकल कलेज,बिराट मेडिकल कलेज, प्रदेशिक प्रयोगशाला, कोशी अस्पतालको अनुगमन गर्ने छ । शुक्रबार धरानमा धरानका मेयर, सीडीयो र जिल्ला प्रहरी प्रमुखको उपस्थितिमा बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्ने छ ।

शनिबार जनकपुर पुगेर प्रदेश २ का मुख्यमन्त्रीसँग छलफल गर्नुका साथै प्रादेशिक प्रयोगशाला, जनकपुर अस्पताल, जानकी मेडिकल कलेज र अस्पतालको अनुगमनका साथै छलफल गर्ने कार्यतालिका रहेको टोलीमा रहेका संघीय संसद् सचिवालयका अधिकृत अमित यादवले जानकारी गराएका छन् ।

आइतबार महोत्तरी सदरमुकाम जलेश्वर पुग्ने उपसमितिले सीडीयो, प्रहरी प्रमुखसँग छलफल गर्नुका साथै जिल्ला अस्पतालको अनुगमन गर्ने   छ । सोही दिन रौतहट रौतहटको कथहरिया नगरपालिका पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिने कार्यतालिका उपसमितिको छ ।

सोमबार रौतहटकै सीडीयो तथा प्रहरी प्रमुख, स्थानीय तह, जिल्ला अस्पतालको अनुगमन गरेर उपसमिति बारा पुग्ने छ । सोही दिन बारामा पनि सीडीयो र प्रहरी प्रमुख तथा स्थानीय तह, जिल्ला अस्पताल र क्वारेन्टाइनको अनुगमन गर्ने कार्यतालिका छ । मंगलबार पर्सामा पुगेर त्यहाँका सीडीयो प्रहरी प्रमुख तथा मेयरसँग छलफल गर्ने र नारायणी अस्पताल, गण्डक अस्पताल तथा नेशनल मेडिकल कलेज वीरगञ्जको अनुगमन तथा छलफल गरि उपसिमति हेटौडा फर्कने छ ।

बुधबार हैटौडामा मुख्यमन्त्री, सामाजिक विकासमन्त्रीसँग छलफल गरेपछि प्रादेशिक प्रयोगशाला, हैटौडा अस्पतालको अनुगमन गर्नुका साथै सरोकारवाला निकायसँग छलफल गरेर काठमाडौं फर्कन कार्यतालिका रहेको अधिकृत यादवले बताए ।

यसअघि उपसमितिले काठमाडौं उपत्यका र आसपासका क्षेत्रको अस्पताल,क्वारेन्टाइन, प्रयोगशालाको अनुगमन गरेको थियो । अनुगमनपछि उपसमितिले समितिलाई सुझाव बुझाएको थियो । सोही सुझावका आधारमा समितिले सरकारलाई निर्देशनात्मक सुझाव दिईसकेको छ ।



प्रतिक्रिया दिनुहोस !