१३ बैशाख २०८१, बिहिबार

मन्त्रालय फुटाएर मन्त्री थपे विरोधमा उत्रने कांग्रेस नेता पौडेलको चेतावनी

प्रकाशित मिति :  1 October, 2020 11:07 am


काठमाडौं, १५ असोज ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार मन्त्रालय फुटाएर संविधानको मर्म विपरित कार्यमा लाग्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्चाल मार्फत टिप्पणी गर्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप गरे घोर विरोधमा उत्रने चेतावनी समेत दिएका छन् ।

नेपाल पौडेलले भनेका छन्,”देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाड्ने गैर जिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको हो । जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकीरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रने छौं।”

प्रधानमन्त्री ओलीले मन्त्रालय फुटाएर मन्त्री थप गर्ने चर्चा चलिरहेका बेला नेता पौडेलको उक्त चेतावनी आएको हो । संविधानले २५ जनाभन्दा बढी केन्द्रीय मन्त्री बनाउन नपाइने व्यवस्था गरेको छ।

नेता पौडेलले देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्ती केन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्ट चलाएको आरोप समेत लगाएका छन् ।

पौडेलले भनेका छन्, “देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्ती केन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएका छन्।”

कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्थामा यस्तो कार्य असह्या हुने पौडेलको भनाई रहेको छ। मन्त्री परिषद् हेरफेरका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र छलफल चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !