२० बैशाख २०८१, बिहिबार

दिने र माग्ने परम्पराबाट विकास सम्भव छैन: मुख्यमन्त्री शाही

प्रकाशित मिति :  23 November, 2019 8:38 pm


काठमाडाैं, ७ मंसिर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिने र माग्ने परम्पराबाट विकास सम्भव नहुने बताउनुभएको छ ।

रिपोर्टसर्् क्लब कर्णाली प्रदेशको पहिलो अधिवेशनको आज वीरेन्द्रनगर सुर्खेतमा उद्घाटन गर्दै उहाँले आवश्यकता र प्राथमिकताका आधारमा हुने विकासले मात्र मुलुक समृद्धिको दिशातर्फ अघि बढ्ने बताउनुभयो ।

सत्तामा रहनेले बजेट बाँड्ने र सडकमा रहनेले माग्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । मुख्यमन्त्री शाहीले भन्नुभयो, “कर्णाली आफैँमा अत्यन्तै सुन्दर प्रदेश हो । केहीले भन्छन्, कर्णाली सुनको डल्ला हो त कसैले भन्छन्, उत्कृष्ट भूमि हो । यही सुनको डल्लो हो होइन भन्ने वास्तविक कुराको प्रमाणित गर्ने जिम्मेवारी हाम्रो काँधमा आइपुगेको छ ।”

कर्णालीमा थुप्रै समस्या भएको जनाउँदै उहाँले यसको विकासका लागि पत्रकारले स्वच्छ सिपाहीको भूमिकामा रहेर काम गर्न आग्रह गर्नुभयो । “कर्णाली नबन्नुका कारण अरुलाई दोषी देख्नुहुँदैन”, उहाँले भन्नुभयो, “अब आत्मसमीक्षा गर्न जरुरी छ । हामी कमजोर छैनौँ, गरेर देखाउन सक्छौँ । यसका लागि हामीमा साझा चिन्तनका साथ अघि बढ्ने एकीकृत सोचको विकास हुनुपर्छ ।”

भाषा, संस्कृति र सभ्यताको विराट इतिहास बोेकेको कर्णाली प्रदेशका सम्भावना र चुनौतीलाई अवसरमा बदल्न सर्वाङ्गीण पक्ष एक हुनुको विकल्प नरहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री शाहीले मुलुकको दिगो विकासको आधार निर्माण गर्नु प्रमुख दायित्व रहेको उल्लेख गर्दै प्राथमिकताका क्षेत्रलाई पहिचान गर्ने र त्यसका आधारमा विकास गर्ने पद्धति लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग उपलब्ध साधन स्रोतको एकीकृत व्यवस्थापनगरी आजको प्रमुख समस्या समाधान गर्नु हाम्रो मुख्य जिम्मेवारी हो ।” वितरण संस्कृतिले उल्लेख्य प्रगति नआउने उहाँको जिकिर थियो ।



प्रतिक्रिया दिनुहोस !