१७ बैशाख २०८१, सोमबार

स्थायी राजधानीको विषयलाई लिएर प्रर्दशन हुन थालेपछि बुटवलका केही ठाउँ निषेधित क्षेत्र घोषणा

प्रकाशित मिति :  3 October, 2020 9:47 pm


रुपन्देही, १७ असोज । 

बुटवलका केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि रुपन्देही प्रशासनले ५ जनाभन्दा धेरै भेला हुन नपाउने गरि केही क्षेत्रलाई निषेधित घोषणा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ।

रुपन्देहीका तीन दर्जन बढी संघ-संगठनको सञ्जालले भोली बिहान बुटवलमा विरोध र्‍याली निकाल्ने निर्णय गरेका छन् ।उक्त निर्णयपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रशासनले प्रदेशसभा सचिवालय रहेको क्षेत्र अन्तर्गत दक्षिणमा इँटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इँटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र कायम गरेको छ ।

त्यस्तै, मन्त्रालयहरू रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म पाँच जनाभन्दा धेरै भेला हुन पाइने निषेधाज्ञामा उल्लेख छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला जम्मा हुन नपाइने गरि निषेधाज्ञा जारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !