सत्याग्रहप्रति दुराग्रह किन ?

उठान
सत्यको आग्रहलाई सत्याग्रह भनिन्छ । सत्याग्रहले सत्य कुराको रक्षा वा पालना गर्नका लागि विशेष अनुरोध गर्दछ । विशेष गरी सत्याग्रहलाई एउटा आन्दोलन नै मानिन्छ । यस किसिमको आन्दोलनको नेतृत्व गर्ने र त्यसमा सहभागी हुने प्रत्येक व्यक्तिका हरेक आचरणहरू सत्यनिष्ठ हुनुपर्छ ।

सत्याग्रह आन्दोलनले विशेषतः राजनीतिक क्षेत्रमा विद्यमान विकृति र विसङ्गतिको अन्त्य गरी सुशासन र न्यायसङ्गत व्यवस्थाको स्थापनाका लागि आग्रह गर्छ । सत्याग्रह आन्दोलन कहिल्यै पनि हिंसात्मक र अराजक हुँदैन । नेपालमा बेलाबेलामा विशेषतः राजनीतिक व्यवस्थाको परिवर्तनका लागि सत्याग्रह आन्दोलनहरू हुँदै आएका छन् तर चिकित्सा क्षेत्रमा विद्यमान विकृति र विसङ्गतिहरूको अन्त्य गर्नका लागि वैयक्तिक प्रयासमा १९औँ पटकसम्म सत्याग्रह आन्दोलन गर्ने व्यक्ति डा. गोविन्द केसी हुन् र उनको आन्दोलनलाई लाखौँ जनताहरूले पूर्ण समर्थन पनि गर्दै आएका छन् तापनि नेपाल सरकार भने उनले उठाएका मागहरू कार्यान्वयन गर्ने दिशामा अग्रसर भएको पाइँदैन ।

सरकार स्वयं सत्याग्रहका पक्षमा उभिएर आम जनतालाई सत्याग्रहका मार्गमा अग्रसर भइरहनका लागि निर्देशन दिनुपर्ने हो तर नागरिकका तर्फबाट गरिएको सत्याग्रहबाट नेपाल सरकार विमुख हुँदै जानु गम्भीर चिन्ताको विषय हो ।

सत्याग्रहको परम्परा 
उपवास बसेर भगवान्द्वारा आफ्ना मनोकामनाहरू वा मागहरू पूरा गराउने प्रचलन देवीदेवताकै पालादेखि चलेको हो । महाभारतमा पाण्डवहरूले कौरव पक्षसँग सत्याग्रहकै अघोषित आन्दोलन गरेका थिए । उन्नाइसौँ शताब्दीतिर प्रारम्भ भएको ‘निःशस्त्र प्रतिकार’ आन्दोलन सत्याग्रहकै स्वरूप थियो ।

आफूभन्दा शक्तिशाली प्रतिपक्षी शासक वा मालिकसँग नै सत्याग्रह गरिन्छ र त्यस सन्दर्भमा निःशस्त्र प्रतिकारको प्रयोग आवश्यक हुन्छ । इङल्यान्डमा महिलाहरूले आफ्नो मताधिकारको प्रयोग गर्न जुन ‘निष्क्रिय प्रतिरोध’को मार्ग अवलम्बन गरेका थिए त्यो पनि सत्याग्रहकै मार्ग हो ।

महात्मा गान्धीले सन् १८९४ मा दक्षिण अफिकामा सत्याग्रह आन्दोलनको सूत्रपात गरेका थिए । भारतमा सत्याग्रह आन्दोलनको प्रथम प्रयोग सन् १९१७ मा चम्पारण जिल्लामा भएको थियो भने सन् १९२० मा यसको प्रयोग अङ्ग्रेज शासनका विरुद्ध राष्ट्रिय अहिंसात्मक असहयोग आन्दोलका रूपमा भएको थियो ।

नेपालमा सर्वप्रथम वि.सं. २००३ चैत्र ३० मा नेपाली काँग्रेसले सत्याग्रह आन्दोलन गरेको थियो, जसका कारण तत्कालीन सरकार वैधानिक सुधार र राजबन्दी रिहा गर्ने निर्णय गर्न बाध्य भएको थियो । त्यसैगरी नेपाली काँग्रेसले २०११ पौष २६ र २७ गते दोस्रो सत्याग्रह आन्दोलन, २०१४ मंसिर २० गते भद्र अवज्ञा आन्दोलनका नामले तेस्रो सत्याग्रह आन्दोलन र २०४२ असारमा चौथो सत्याग्रह आन्दोलन गरेको कुरा नेपालको इतिहासमा पढ्न पाइन्छ ।

यसैगरी अन्य राजनीतिक दलले पनि घोषित र अघोषित रूपमा बेलाबेलामा सत्याग्रह आन्दोलनका माध्यमबाट देश र समाजमा नैतिक मूल्य र मान्यता कायम गर्न सहयोग पु¥याएको पाइन्छ ।

सत्याग्रह आन्दोलनको आवश्यकता किन ?

सत्यको आग्रह त धेरैले गर्छन् तर वास्तविक सत्याग्रहप्रति भने कमैको निष्ठा रहेको हुन्छ । सामूहिकभन्दा व्यक्तिगत रूपमा गरिने सत्याग्रह आन्दोलन महत्त्वपूर्ण मानिन्छ । महात्मा गान्धीले सर्वप्रथम व्यक्तिगत रूपमै सत्याग्रह आन्दोलनको प्रारम्भ गरेका थिए र उनको त्यस आन्दोलनलाई स्वतःस्फूर्त रूपमा साथ र सहयोग गर्नेहरू धेरै देखिएका थिए । सामूहिक सत्याग्रह आन्दोलनमा अप्रत्यक्ष रूपमा कुनै न कुनै घुसपैठ हुन सक्छ तर व्यक्तिगत सत्याग्रहमा त्यस्तो सम्भावना अत्यन्त न्यून रहन्छ ।

व्यक्तिगत सत्याग्रहमा आफू एक्लो छु र व्यक्ति हारे पनि समाज अनि देशले जित्न सकोस् भन्ने अपेक्षा राखिएको हुन्छ । त्यस्तै किसिमको अपेक्षालाई जनसमर्थन पनि बढ्ता प्राप्त हुन्छ ।

नेपालमा केही वर्षयता डा. गोविन्द केसी व्यक्तिगत सत्याग्रह आन्दोलनका पर्याय बन्दै गएका छन् । सत्याग्रही व्यक्ति कस्तो त्यागी, निष्ठावान् र नैतिक हुनुपर्छ भन्ने कुराको आदर्श डा. केसीले नेपाली जनताका सामु प्रस्तुत गरिरहेका छन् । एउटा निष्ठावान्, नैतिक र त्यागी व्यक्तिमा कत्तिको शक्ति र सामथ्र्य हुँदो रहेछ भन्ने कुराको शिक्षा पनि डा. केसीबाट अधिकांश नेपालीले लिइरहेका छन् ।

नेपालको चिकित्सा क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा विकृति र विसङ्गगति बढिरहेका छन् तर त्यस्ता क्षेत्रमा पनि सत्याग्रह आन्दोलनहरू हुनुपर्ने हो तापनि त्यस दिशातर्पm हालसम्म कसैले हिम्मत देखाउन भने सकेका छैनन् । दिनानुदिन दुराग्रहले ग्रस्त बन्दै गएको हाम्रो समाज र देशलाई स्वस्थ बनाउन आआफ्ना क्षेत्रमा हरेक व्यक्तिले आपूmलाई सत्याग्रही ठान्न सक्नुपर्छ र सत्याग्रहको आन्दोलनमा सदैव अग्रसर गराइरहनु आवश्यक छ ।

नेपालको राजनीति किन दुराग्रही छ ?

नेपालको वर्तमान राजनीतिमा अध्ययनशील, नैतिक र निष्ठावान् व्यक्तिहरूको उपस्थिति क्रमशः अत्यन्त न्यून हुँदै गएको छ । त्यति मात्र होइन नेपालका धेरैजसो सरकारी र गैरसरकारी क्षेत्रहरूसमेत राजनीतिक सङ्कीर्णताबाट ग्रस्त छन् र तिनले सत्याग्रहलाई भन्दा बढ्ता दुराग्रहलाई नै मलजल गर्दै आएका छन् ।

यसो हुनुमा राजनीतिक हस्तक्षेप नै मुख्य कारण मानिन्छ । फलस्वरूप सत्याग्रहीहरूलाई क्रमशः पाखा लगाउँदै गएको देख्दा हामीहरूलाई लाज लाग्नै छाडिसकेको छ । हामीले त्याग, सत्य र निष्ठाको आचरण मन पराउनुपर्छ त भन्छौँ तर हाम्रै व्यवहारले तिनलाई क्रमशः तिरस्कार गर्दै जान थालेको हामीले पत्तै पाएका छैनौँ । हामी सत्यनीति, त्यागनीति र निष्ठानीतिलाई भन्दा राजनीतिलाई बढ्ता मन पराउँछौँ । जसका कारण हामीले आफ्ना जनप्रतिनिधिहरू छनोट गर्दा निष्ठावान्, त्यागी र सत्याग्रही व्यक्तिलाई विजयी बनाउन चाहँदैनौँ ।

जब हामीले हाम्रा जनप्रतिनिधि नै सत्याग्रही छान्न सक्तैनौँ तब तिनबाट हामीले सत्याग्रहीको आवाज सुनिएला र बारम्बार सहमति गरिएका सहमतिहरू कार्यान्वयन गरिएलान् भनेर सोच्नु मूर्खताबाहेक केही पनि हुन सक्तैन । तसर्थ हामीले दुराग्रही प्रवृत्तिको क्रमशः अन्त्य गर्दै सत्याग्रही प्रवृत्तिको विकास गर्दै जाने चाहना र सङ्कल्प लिने हो भने सर्वप्रथम हाम्रा जनप्रतिनिधिहरू छनोट गर्दा नै विशेष ख्याल गर्नुपर्छ र छनोट गरिसकेपछि पनि हामीले बारम्बार सत्याग्रहद्वारा तिनलाई सचेत गराइरहनु आवश्यक छ ।

सत्याग्रह राज्यले गर्ने कि व्यक्तिले ?

वर्तमानमा युधिष्ठिरजस्ता सत्यनिष्ठ र सत्याग्रही सरकार प्रमुखको अपेक्षा त गर्न असम्भव छ तर राज्यले सत्याग्रहको अपेक्षा राख्नु अस्वाभाविक र असम्भव भने देखिँदैन । राजनेता भनेका सत्यको सगरमाथा आरोहण गर्ने आरोही हुन् र उनीहरू दुराग्रही हुनु हुँदैन भन्ने सन्देश जनताका सामु पु¥याउनु राज्यको दायित्व हो ।

जनताहरू दुराग्रहमा फस्तै गए भने तिनलाई सत्याग्रहको मार्गमा प्रवृत्त गराउनु राज्यको कर्तव्य हुनुपथ्र्यो तर राज्यको बागडोर सम्हालिरहेका व्यक्तित्वहरू नै सत्याग्रहबाट विमुख हुँदै दुराग्रहमा फस्तै गएका कारण डा. गोविन्द केसीजस्ता व्यक्तिबाट बारम्बार सत्याग्रहको आन्दोलन गरिरहनु रहर नभएर एउटा बाध्यता हो ।

जबसम्म राज्यले सत्याग्रह आफ्नै अभिन्न अङ्ग हो भन्ने ठान्न सक्तैन र दुराग्रहलाई नै आफ्नो अभिन्न अङ्ग ठानेर सत्ताको सुखसुविधामै आपूmलाई लिप्त गराइरहन्छ तबसम्म राज्यप्रति जनताको विश्वास गुम्दै जान्छ र लाखौँ डा. गोविन्द केसीहरूको जन्म भइरहने कुरा सुनिश्चित छ ।

सत्याग्रह किन बारम्बार भइरहनुपर्छ ?

वर्तमानमा मात्र होइन हामी बाँचुन्जेलसम्म पनि हाम्रो समाजमा सत्याग्रहीभन्दा दुराग्रहीहरूको दिनानुदिन बढ्ने क्रम रहिरहन्छ किनभने सत्यको मार्गमा हिँड्न सबैलाई गाह्रो छ र असत्य वा कुमार्गमा हिँड्न कसैले कसैलार्य सिकाइरहनु पर्दैन । कुमार्गगामी प्रवृत्तिलाई मान्छेको स्वाभाविक प्रवृत्ति मान्न सकिन्छ र त्यसबाट निवृत्त हुनका लागि सत्याग्रहकै आवश्यकता पर्छ । सत्याग्रह आन्दोलन कुनै राजनीतिक आन्दोलनजस्तो सत्ता प्राप्त भएपछि अन्त्य भइहाल्ने खालको आन्दोलन होइन ।

त्यसैले यसको कहिल्यै अन्त पनि हुँदैन र नदी बगिरहे जस्तै सत्याग्रह आन्दोलन सदैव प्रवाहित भइरहन्छ । पानी बग्न छाडेपछि खोलाहरू प्रदूषित भएजस्तै सत्याग्रहको प्रवाह हुन छाड्यो भने विकृतिहरू फैलिँदै जाँदा हाम्रो समाज पनि प्रदूषित हुँदै जान्छ ।

बारम्बार सत्याग्रह आन्दोलन गरिरहने डा. गोविन्द केसीको प्रवृत्तिलाई पागलपनको संज्ञा दिन रुचाउनेहरू निश्चय नै सत्याग्रही होइनन् किनभने त्यसरी संज्ञा दिन उनीहरूलाई आफ्नो दुराग्रहले नै प्रेरित गरिरहेको हुन्छ ।

तसर्थ डा. गोविन्द केसीका समर्थकहरूले सत्याग्रहको निरन्तरताको वास्तविकतालाई बुझेर आफ्ना शिष्य–प्रशिष्यहरू जन्माउँदै जाने सङ्कल्प लिनु आवश्यक छ ।

के सत्याग्रहले आँखा र कान खोलिदिन्छ ?

मान्छे जन्मजात दुराग्रही हुँदैन र बाल्यकालसम्म पनि मान्छेमा दुराग्रही प्रवृत्तिको उदय हुँदैन । जब मान्छेले आफ्नै समाजबाट केही सिक्तै जान्छ तब उसले सत्यलाई पनि क्रमशः कुल्चँदै जान्छ भन्ने दृष्टान्त आजका हामी मान्छेमा घटित हुन्छ । त्यसमा पनि कुनै सार्वजनिक प्रतिष्ठित पद प्राप्त गर्दाबित्तिकै मान्छेमा श्रवणशक्ति र दर्शनशक्ति क्रमशः कमजोर हुँदै जान्छ ।

देख्ने आँखा भएर पनि देख्न नसक्नु र सुन्ने कान भएर पनि सुन्न नसक्नु दुराग्रहकै परिणाम हो । त्यस्ता दुराग्रही र दम्भी शासक वा प्रशासकका आँखा र कान खोलिदिन सत्याग्रहले सघाउँछ । दर्शनशक्ति र श्रवणशक्ति गुमेको अभिनय गरेका आँखा र कानलाई वास्तविक धरातलमा ल्याइदिन सत्याग्रहले सघाएकै कारण बाध्य भएर शासक र प्रशासकहरूले सहमतिमा हस्ताक्षर त गरिहाल्छन् तर हस्ताक्षरको मसी सुक्न नपाउँदै तिनै शासक र प्रशासकका हातहरू काम्न थाल्ने भएकाले उनीहरू सहमतिलाई कार्यान्वायनमा ल्याउन असमर्थ हुन्छन् ।

फलस्वरूप बारम्बार सत्याग्रह आन्दोलन र सहमतिका शृङ्खलाहरू दोहोरिइरहन्छन् । त्यसैले बच्चाबच्चीले लुकामारी खेल खेले जस्तै शासक र प्रशासकका सहमतिका खेलहरू सदैव लज्जास्पद भइरहन्छन् तापनि सत्याग्रहको शृङ्खला भने कहिल्यै पनि रोकिँदैन ।

बैठान 

जति जति दुराग्रहीहरू बढ्दै गएर समाजलाई सताउँदै गए त्यति त्यति सत्याग्रहीहरूको पनि समाजमा उदय हुँदै जान्छ । न कहिल्यै दुराग्रहीहरूको अन्त्य सम्भव छ न त सत्याग्रहीहरूलाई नै समाजबाट निर्मूल पार्ने धृष्टता सम्भव छ । मान्छेका प्रवृत्ति र निवृत्ति मार्गजस्तै दुराग्रही र सत्याग्रही प्रवृत्ति पनि स्वाभाविक हुन् ।

दुराग्रहीभित्र पनि केही मात्रामा सत्याग्रही प्रवृत्ति कायम रहेको हुन्छ भने सत्याग्रहीभित्र पनि आंशिक मात्रामा दुराग्रही प्रवृत्तिले डेरा जमाएको हुन्छ । त्यसैले हाम्रै दुराग्रहबाट अस्वस्थ भइरहेको समाजलाई स्वस्थ बनाउन सत्याग्रह अति आवश्यक छ र दुराग्रहीहरूको न्यूनीकरणका लागि सत्याग्रहीहरूले निरन्तर आफ्ना पाइलाहरू अविश्रान्त रूपमा अगाडि बढाइरहनु आवश्यक देखिन्छ ।