७ बैशाख २०८१, शुक्रबार

अर्मेनिया र अजरबैजान अस्थायी युद्ध विरामका लागि तयार,आजदेखि नै लागू हुने

प्रकाशित मिति :  10 October, 2020 8:29 am


काठमाडौं, २४ असोज ।

अर्मेनिया र अजरबैजान अस्थायी युद्ध विरामका लागि तयार भएका छन् ।

विवादित नागोर्ने—काराबाख क्षेत्रमा कब्जाको विषयलाई लिएर युद्धरत दुई देश अस्थायी युद्ध विरामका लागि सहमत भएका बीबीसीले जनाएको छ । रुसका विदेशमन्त्री सर्गेई लाबरवले दुबै देश अस्थायी युद्धविरामका लागि सहमत भएको जानकारी गराएका छन् । रुसको मध्यस्थतामा मस्कोमा दश घण्टा भएको छलफलमा दुबै देश आजदेखि युद्धविराम लागू गर्नका लागि तयार भएका छन् ।

यसबीचमा दुबै देशले युद्धमा मारिएका आफ्ना सैनिकको शव लिने छन् भने युद्धबन्दी साटफेर गर्नेछन् । रुसी विदेशमन्त्री सर्गेइले भनेका छन् कि अब शान्ति बहाल गर्नका लागि दुबै देशबीच छलफल अगाडि बढाईने छ । नागोर्नो —काराबाख क्षेत्रलाई लिएर दुइहप्तादेखि जारी युद्धपछि पहिलो पटक अर्मेनिया र अजरबैजान मास्कोमा आमनेसामनो छलफलमा बसेका हुन् ।

दुबै देशका विदेशमन्त्री स्तरीय छलफलमा रुसी विदेशमन्त्री सर्गेई मध्यस्थकर्ताको रुपमा सहभागि थिए । नागोर्नो—काराबाखमा जारी युद्धमा भएको बमबारीको खतराप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । २७ सेप्टेम्बरदेखि सुरु भएको युद्धमा ३ सय जनाको ज्यान गइसकेको छ भने हजारौ व्यक्ति विस्थापित हुन बाध्य भएका छन् ।

नागोर्ने—काराबाख एक पहाडी क्षेत्र हो र आधिकारिक रुपमा अजरबैजानको भएपनि सन् १९९४ मा भएको युद्ध समाप्तिपछि अर्मेनियाको कब्जामा छ । पूर्व सोभियत संघको हिस्सा रहेको अर्मेनिया र अजरबैजान नागोर्ने—काराबाखको क्षेत्रलाई लिएर सन् १९८० को दशक र सन् १९९० को दशकको सुरुमा लडिसकेका छन् ।

ताजा तनाबलाइृ लिएर दुबै देशले एक अर्काप्रति दोष थोपारेका छन् ।
जारी युद्ध अन्त्यका लागि अर्मेनिया र अजरबैजानबी हिजोदेखि प्रत्यक्ष वार्ता सुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !