४ बैशाख २०८१, मंगलबार

दाङमा पनि पशुमा लाग्ने लम्पी स्किन भाइरस भेटियो

प्रकाशित मिति :  11 October, 2020 9:51 pm


दाङ,२५ असोज ।

दाङमा पशुमा लम्पी स्किन भाइरस फेला परेको छ । दाङको राप्ती गाउँपालिका भित्र लम्पी स्स्किन भाइरस फेला परेको राप्ती गाउँपालिका पशु सेवा शाखाले जनाएको छ । पशु सेवा शाखाको पहलमा मात्र रोग निर्मलीकरण गर्न नसकिने देखिएको भन्दै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङलाई जानकारी गरि उपचारकार्यमा सहयोग गर्न अनुरोध गरिएको शाखा प्रमुख शेर बहादुर हमाल रिजालले जानकारी   दिए ।

यो रोग संक्रमित गाईभैंसीबाट जन्मिएका बाच्छाबाच्छी र पाडापाडीमा समेत सर्दछ । रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नुपर्छ । यस रोगविरूद्धको खोप हाल नेपालमा उपलब्ध नभएको हुँदा रोग देखिएको क्षेत्रबाट गाइभैंसीको ओसारपसार नियन्त्रण गर्नु र गोठ वरिपरिको वातावरण सफा राख्नु नै रोगविरूद्धको लडाइँको मुख्य हतियार हरेको शाखा प्रमुख रिजालको भनाई छ ।

लम्पी स्किन रोग विशेषगरी गाई र भैंसीमा देखिने काप्री पक्स बिषाणु समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो । पहिलो पटक अफ्रीकि मुलुक जिम्बाबेमा सन् १९२९ देखा परेको यो रोग सन् २०१२ जुलाईमा बगलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेको थियो । पछिलो समय नेपालमा पनि यो रोग भित्रिएको पुष्टि भएको छ । केन्द्रीय पशु रोग अन्वेषण शाखामा गरिएको परिक्षणमा नेपालमा यो रोग भित्रिएको पुष्टी भएको हो ।

यो रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या हुन्छ र पशुको मृत्यु समेत हुन्छ ।

देशका अन्य स्थानहरूमा समेत गाईहरूमा यो रोगसँग मिल्दो लक्षणहरू देखापरेको सूचना प्राप्त भइरहेकोमा रोगको अनुसन्धान तथा आवश्यक नमूना संकलन गरी परीक्षणका लागि नमूनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाउन भेटेरिनरी प्रयोगशालाहरूलाई निर्देशन दिइसकिएको पुशुसेवा बिभागका उप महानिर्देशक सम्झना कुवर काफ्लेले बताए ।

दूध उत्पादनमा निकै नै नकारात्मक असर पार्न सक्ने यो रोग फैलिदै जाँदा दूधमा आत्मनिर्भर हुने लक्ष्यमा ठेस पुग्ने मात्र नभई मुख्यतया साना किसानको जीविकोपार्जन, दुग्ध क्षेत्रबाट प्राप्त रोजगारी तथा खाद्य सुरक्षामा समेत नकारात्मक असर पर्न सक्ने काफ्लेको भनाई छ ।

सरकारले गत साउन २१ गते नेपालमा पहिलो पटक लम्पी स्किन रोग देखिएको जानकारी गराएको थियो । पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले पत्रकार सम्मेलन गरेर लप्पी स्किन रोग भेटिएको जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

नेपालमा पहिलोपटक गाईमा लम्पी स्किन रोगको पुष्टि, गाईभैँसीका लागि खतरनाक रहेको चेतावनी



प्रतिक्रिया दिनुहोस !