७ बैशाख २०८१, शुक्रबार

नेपालमा पहिलोपटक गाईमा लम्पी स्किन रोगको पुष्टि, गाईभैँसीका लागि खतरनाक रहेको चेतावनी

प्रकाशित मिति :  5 August, 2020 1:27 pm


काठमाडौं,२१ साउन ।

नेपालमा पहिलो पटक लम्पी स्किन रोग देखिएको छ । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा  गरेको परीक्षणमा लम्पी स्किन रोगको पुष्टि भएको हो ।

यो रोग नेपालमा पहिलो पटक पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले जानकारी दिए । विभागमा पत्रकार सम्मेलन गरेर असार महिनाको अन्तिम सातातिर मोरङ जिल्लामा केही गाईमा लम्पी स्किन रोगसँग मिल्दो लक्षणहरू देखा परेको सूचना प्राप्त भएपछि गरिएको परीक्षणमा रोग पुष्टि भएको महानिर्देशक मिश्रले जानकारी दिए ।

कस्तो प्रकारको रोग हो ?

यो विशेषगरी गाईहरूमा र कहिलेकाही भैंसीहरूमा समेत देखिने पक्स भाइरस समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो।

विगतमा अफ्रिकी महादेशमा सीमित यो रोग सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान लगायत बालकन्स क्षेत्र हुँदै सन् २०१९ जुलाइमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेको थियो। तर अहिले नेपालमा समेत यो रोगको संक्रमण प्रवेश गरेको महानिर्देशक शर्माले जानकारी दिए ।

पत्रकार सम्मेलनमा महानिर्देशक शर्माले भने, विश्व पशु स्वास्थ्य संगठनमा सूचीकृत रोग भएको हुँदा पुष्टि भए लगत्तै नेपालले विश्व पशु स्वास्थ्य संगठनलाई यो रोग देखा परेको सूचना दिए अनुसार विश्व पशु स्वास्थ्य संगठनले नेपालमा लम्पी स्किन रोग देखा परेको प्रमाणित भएको सूचना समेत प्रकाशित गरिसकेको छ।

महानिर्देशक शर्माले मानिसका लागि कोरोना जति खतरनाक छ यो रोग गाईभैँसीका लागि त्यो बढी खतरनाक रहेको बताए ।

रोग देखिएका जिल्ला र क्षति

हालसम्म मोरङ, रौतहट, चितवन र मकवानपुरको ३४ वटा नमूना परीक्षण गर्दा सम्पूर्ण नमुूनाहरूमा लम्पी स्किन रोग पोजिटिभ देखिएको विभागले जनाएको छ । ती स्थानहरूमा १५०० जति गाईहरूमा यो रोगको संक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

हालसम्म १२ वटा गाईहरू यो रोग के कारण मरेको महानिर्देशक शर्माले जानकारी दिए । देशका अन्य स्थानहरू समेत गाईहरूमा यो रोगसँग मिल्दी लक्षणहरू देखापरेको सूचना प्राप्त भइरहेको भन्दै महानिर्देशक शर्माले भने , “रोगको अनुसन्धान तथा आवश्यक नमूना संकलन गरी परीक्षणका लागि नमूनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाउन भेटेरिनरी प्रयोगशाला हरूलाई निर्देशन दिइसकिएको छ। साथै प्राविधिक तथा कृषक हरूले समेत केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सम्पर्क गरी नमूना ल्याउने क्रम जारी नै रहेको छ।”

रोगका लक्षण

घाँटी, पुच्छर वरिपरिका भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागहरूमा साना ठूला गिर्खाहरू देखिने, उच्च ज्वरो आउने, कचेरा र सिंगान बग्ने तथा गुखबाट फिज धेरै निकाल्ने जस्ता लक्षणहरु देखिने विभागले जनाएको छ ।

रोगले निम्ताउने परिणाम

यो रोगका कारण दूध उत्पादनमा निकै नै नकारात्मक असर पार्न सक्ने उल्लेख गर्दै महानिर्देशक शर्माले भने, “रोग फैलिदै जाँदा दूधमा आत्मनिर्भर हुने लक्ष्यमा ठेस पुग्ने मात्र नभई मुख्यतया साना किसानको जीविकोपार्जन, दूग्ध क्षेत्रबाट प्राप्त रोजगारी तथा खाद्य सुरक्षामा समेत नकारात्मक असर पर्न सक्ने देखिन्छ।”

यसका साथै रोग लागेर निको भएका पशुको छालामा हुने परिवर्तन कै कारण नेपालबाट हुने गरेको छाला निकासीमा समेत नकारात्मक असर पर्न सक्ने विभागले चेतावनी दिएको छ ।

रोग सर्ने कारणहरु

रोग मुख्यतया लामखुट्टे, टोक्ने झिगा, किर्ना आदिको टोकाइबाट सर्ने गर्दछ।

यस बाहेक संकमित गाइभैसीको लसपस र ओसारपसार, संक्रमित र स्वस्थ गाई भैँसीलाई उपचारको क्रममा एउटै सुईको प्रयोग, र प्राकृतिक तथा कृत्रिम गर्भाधानमा संक्रमित साँढेको बीर्यको माध्यमबाट पनि रोग सर्ने विभागले जनाएको छ । यो रोग संकमित गाईभैंसीबाट जन्मिएका बाच्छाबाच्छीरपाडापाडीमा समेत सर्ने महानिर्देशक शर्माको भनाई छ ।

औषधि पत्ता लागेको छैन

उनले यो रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नुपर्ने बताए । उनले भने, यस रोगविरूद्धको खोप हाल नेपालमा उपलब्ध नभएको हुँदा रोग देखिएको क्षेत्रबाट गाई भैंसीको ओसारपसार नियन्त्रण गर्नु र गोठ वरिपरिको बातावरण सफा राख्नु नै हाललाई यो रोगविरुद्धको लडाइँको मुख्य हतियार हो।

यस रोगको नियन्त्रण तथा रोकथामका लागि पशु सेवा विभागले सातवटै प्रदेशका पशु सेवा सम्बन्धी निकाय, स्थानीय तहका पशु सेवा सम्बन्धी शाखा, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पशु यवारेन्टाइन कार्यालयहरूसँग समन्वय र सहकार्य गरिरहेको जनाएको छ ।

हालको कोभिडको अवस्थामा समेत विभागले बैंकल्पिक विधिहरुको प्रयोग गरी कृषक, सहकारी, प्राविधिक र अन्य सरोकारवाला हरु बीच जनचेतना अभिवृद्धिका लागि अभिमुखीकरणका कार्यक्रम तथा सूचना सामग्री तयार गरी प्रकाशन तथा प्रसारण लगायतको कार्य गरिरहेको महानिर्देशक शर्माले बताए ।

त्यसै गरी पशु सेवा विभागले यो रोग विरुद्धको खोपको व्यावसायिक उत्पादन तथा उपलब्धताबारे आवश्यक अध्ययन गरिरहेको भन्दै महानिर्देशक शर्माले पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ को सूचित गर्नुपर्ने रोगहरूको सूचीमा समावेश गर्न आवश्यक प्रक्रिया समेत थालनी गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !