२७ जेष्ठ २०८३, बुधबार

एनसेल डाटा सेन्टरले पायो अन्तर्राष्ट्रिय टीआईए–९४२–सी प्रमाणीकरण

प्रकाशित मिति :  10 June, 2026 4:43 pm


काठमाडौं । एनसेल बिजनेसले ललितपुरको नख्खुस्थित आफ्नो डाटा सेन्टरले प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड–३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फ्यासिलिटी’ प्रमाणीकरण प्राप्त गरेको जनाएको छ।

यो प्रमाणीकरणसँगै एनसेलको डाटा सेन्टर नेपालमै यस्तो स्तरको अन्तर्राष्ट्रिय प्रमाणिकरण प्राप्त गर्ने पहिलो डाटा सेन्टर बनेको कम्पनीले जनाएको छ। सरकारबाट सूचीकृत नेपालको पहिलो डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायकका रूपमा रहेको एनसेल डाटा सेन्टरले विश्वसनीयता, सुरक्षा र सेवा निरन्तरताका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको दाबी गरिएको छ।

प्रमाणीकरणले डाटा सेन्टरको पूर्वाधार उच्च उपलब्धता, अतिरिक्त सुरक्षा प्रणाली र प्रतिकूल अवस्थाबाट छिटो पुनः सञ्चालनमा फर्किन सक्ने क्षमतायुक्त रहेको पुष्टि गरेको कम्पनीको भनाइ छ। डाटा सेन्टरमा विद्युत् आपूर्ति, कुलिङ र नेटवर्क प्रणालीमा पूर्ण अतिरिक्त व्यवस्था गरिएको छ, जसले पूर्वनिर्धारित मर्मत वा आकस्मिक अवस्थामासमेत सेवा अवरुद्ध हुन नदिने कम्पनीले जनाएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो उपलब्धि कम्पनीका साथै नेपालको डिजिटल पूर्वाधार विकासका लागि पनि महत्वपूर्ण भएको बताए।

“नेपालबाट डिजाइन एन्ड कन्स्ट्रक्टेड फ्यासिलिटीमा टीआईए प्रमाणीकरण प्राप्त गर्ने एनसेल डाटा सेन्टर पहिलो हो,” उनले भने, “यसले स्थानीय व्यवसाय र सरकारी निकायलाई नेपालमै सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रियस्तरको डिजिटल पूर्वाधार प्रयोग गर्ने आधार प्रदान गर्छ।”

एनसेल डाटा सेन्टरले यसअघि सूचना सुरक्षा तथा गोपनीयतासम्बन्धी आईएसओ २७००१ र आईएसओ २७७०१ प्रमाणिकरण प्राप्त गरिसकेको छ। कम्पनीसँग आईएसओ ९००१ र आईएसओ १४००१ मान्यता पनि रहेको छ।

कम्पनीका अनुसार नयाँ प्रमाणीकरणले बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सरकारी निकाय, साना तथा मझौला उद्यम र ठूला व्यवसायलाई सुरक्षित तथा भरपर्दो डिजिटल सेवा उपलब्ध गराउन थप सहज बनाउनेछ। यसले बैंकिङ कारोबार, अनलाइन सेवा तथा इन्टरप्राइज प्रणालीको डाउनटाइम न्यून गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

एनसेलले यो उपलब्धिले नेपालको डिजिटल रूपान्तरणमा योगदान पुर्‍याउने, महत्वपूर्ण डाटाको स्थानीय होस्टिङलाई प्रोत्साहन गर्ने तथा विदेशी पूर्वाधारमाथिको निर्भरता घटाउन सहयोग पुग्ने जनाएको छ।



प्रतिक्रिया दिनुहोस !