काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुदाँ ७ जनाको मृत्यु
प्रकाशित मिति : 12 June, 2026 4:05 pm
काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
शुक्रबार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको छ। घाइते भएका १७ जनाको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको उनले बताए।
दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बिष्टले बताए।








